जेनजी प्रदर्शनमा प्रहरीको एसएलआर लुट्ने युवक पक्राउ, ८ वटा मुद्दा चलेका खुलासा

by समतल अनलाइन
87Shares

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुट्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती निवासी ३६ वर्षीय सम्राट भनिने राजु परियार रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले परियारलाई मंगलबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको हो। प्रहरीले उनीविरुद्ध आपराधिक उपद्रो सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार परियारले जेनजी आन्दोलनको क्रममा प्रहरीको एसएलआर राइफल लिई प्रदर्शन गरेको भिडियो भाइरल बनेपछि उनको खोजी सुरु गरिएको थियो। भिडियोमा उनी टाउकोमा क्याप, मुखमा कालो मास्क, शरीरको माथिल्लो भाग निर्वस्त्र देखिँदै राइफल बोकेर ‘पोज’ लिएको देखिन्थ्यो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा परियारले सो हतियार नेपाली सेनालाई बुझाएको दाबी गरेका थिए। तर, सेनालाई बुझाएको प्रमाण भने अहिलेसम्म फेला परेको छैन।

भिडियो सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत उनको खोजी थालेको थियो। झन्डै एक महिनापछि अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको सुनाकोठीबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले लामो अनुसन्धानपछि मात्र उनको वास्तविक नाम र ठेगाना पत्ता लगाएको बताइएको छ। पक्राउपछि अनुसन्धान गर्दा परियारविरुद्ध अघिल्ला वर्षहरूमा विभिन्न अपराध मुद्दा दर्ता भएका तथ्य फेला परेका छन्।

प्रहरी अभिलेख अनुसार परियारमाथि हालसम्म **८ वटा मुद्दा** दर्ता भएका छन्। तीमध्ये ज्यान मार्ने उद्योग, अभद्र व्यवहार र ठगी जस्ता गम्भीर मुद्दाहरू पनि छन्।

२०६४ माघ २० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। त्यसपछि २०७० असोज १४ गते ललितपुर निवासी रोमन महर्जनको जाहेरीमा पनि उनीविरुद्ध सोही प्रकृतिको मुद्दा चलेको थियो।

२०७१ वैशाख १९ गते स्वयम्भु वृत्तबाट ठगी सम्बन्धी अर्को मुद्दा दर्ता भएको थियो। त्यस्तै, २०७५ पुस १३ गते नयाँ बानेश्वर वृत्तमा रवि तामाङको जाहेरीमा ठगी र अभद्र व्यवहारको मुद्दा चलाइएको थियो।

त्यसपछि २०७९ पुस १७ गते राजकुमार खड्गीको जाहेरीका आधारमा बैंकिङ कसुरको मुद्दा पनि दर्ता गरिएको थियो। दुई वर्षअघि ललितपुरमा मिक्सार तामाङको जाहेरीमा ठगी सम्बन्धी मुद्दा चलाइएको थियो।

२०६५ भदौ १० गते गोविन्द रिमालले दर्ता गरेको अर्को जाहेरीमा पनि परियारविरुद्ध अभद्र व्यवहारको मुद्दा परेको थियो।

प्रहरीले परियारमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

You may also like