बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिका र मातहतका सबै कार्यालयहरूमा अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको छ । असोज २२ गतेदेखि लागू हुने गरी गरिएको निर्णयअनुसार अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यकबाहेकका सबै अस्थायी, करार तथा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र सम्झौता रद्द गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्र बमोजिम यो निर्णय गरिएको हो।”
नेपाल सरकार (मन्त्रिपरिषद्) ले असोज ५ गते अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न स्थानीय तहहरूले अस्थायी र करार सेवामा रहेका कर्मचारीहरूलाई बिदा दिन थालेका छन् ।
रोहिणी गाउँपालिकाको यो निर्णयपछि गाउँपालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीहरू प्रभावित हुने भएका छन् । गाउँपालिकाले भने अत्यावश्यक सेवा, विशेष गरी स्वास्थ्य, शिक्षा, सरसफाइ र प्रशासनिक निरन्तरतासँग सम्बन्धित पदहरूमा मात्रै अस्थायी व्यवस्था रहने जनाएको छ ।
गाउँपालिकाले नागरिक सेवामा प्रभाव नपरोस् भन्ने उद्देश्यका साथ आवश्यक वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको जनाएको छ ।