हमासले छाड्न लागेका युद्धबन्दीको सूचीमा किन छैन विपिनको नाम ?

by समतल अनलाइन
66Shares

काठमाडौं । इजरायलसँग युद्धविराम गरेको हमासले पहिलो चरणमा छाड्न लागेको युद्धबन्दीको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम छैन ।

हमास समूहले २० जना युद्धबन्दी छाड्ने तयारी गरेको छ । आगामी सोमबारभित्र मुक्त गर्न लागिएका ती बन्धकको सूचीमा विपिन नरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।

राजदूत पण्डितका अनुसार हमासको कब्जाबाट मुक्त गर्न लागेका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिक हुन् ।

विपिनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको राजदूत पण्डितले बताए ।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि इजरायल गएका विपिन इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका थिए । त्यस यता उनको अवस्था अज्ञात छ ।

हमासको कब्जामा परेको केही दिनपछिको उनको भिडिओ हालै सार्वजनिक भएको थियो । गाजामा हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने आफ्ना साथीहरूलाई बचाउने क्रममा विपिनलाई हमासले कब्जामा लिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए ।

त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । जसमध्ये २० जना इजरायली नागरिकको नाम हमासले सार्वजनिक गरेको हो ।

You may also like