सिंहदरबार आगजनीमा दमकल नपठाएको आरोपप्रति मेयर बालेन शाहको स्पष्टीकरण

by समतल अनलाइन
121Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगजनी हुँदा दमकल नपठाएको आरोपप्रति आफ्नो स्पष्ट जवाफ दिएका छन् । उनले आन्दोलनकारीहरूले दमकल जान अवरोध गरेकाले आवश्यक समयमै आगो निभाउन नसकेको बताएका हुन् ।

मेयर शाहले सामाजिक सञ्जालमार्फत जारी गरेको विवरणमा भनेका छन्, ‘सिंहदरबार जलाइए लगत्तै दमकल पठाउने प्रयास भए पनि आन्दोलनकारीको अवरोधका कारण दमकलले काम गर्न सक्ने अवस्था थिएन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि भीडले काम गर्न दिइएन।’

उनका अनुसार भीड केही शान्त भएपछि २४ गते साँझ ८:१५ बजे काठमाडौँ महानगरको दमकल सिंहदरबार पुगेको थियो । उनले काठमाडौँ महानगरपालिकामा हाल ५ वटा दमकल (न्यूरोडमा दुई, बालाजुमा दुई र रामहिटीमा एउटा) सञ्चालनमा रहेको र ४४ जनाको टिम तीन सिफ्टमा काम गरिरहेको जानकारी पनि दिएका छन्।

साथै, उनले देशलाई अहिले एकता र साँचो कुराको खाँचो रहेको बताएका छन्।

You may also like