काठमाडौँ। निर्वाचन आयोगले आउँदो २१ फागुनमा हुने निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।
आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ ।
मंगलबार प्रधानमन्त्रीको उपस्थितिमा सबै मन्त्री, सचिव, सुरक्षा प्रमुखसहित बृहत छलफल गर्ने तयारी गरेको छ । उक्त बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र प्रशासनिक तालमेलका विषयमा निर्णय गरिनेछ।