वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरियो

by समतल अनलाइन
133Shares

काठमाडौँ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यससँगै मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । तर पूरै मनसुन नै भने बहिर्गमन भइनसकेको हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको भने नियमित अनुगमन भइरहेको उनको भनाइ छ ।

उनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।

विभागका अनुसार अविरल वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जल सतह सतर्कता तह पार गरी हाल घट्दो क्रममा पुगेका छन्। सप्तकोशी नदीले भने खतरा तह पार गरिसकेको र यसका सहायक नदीहरू तमोर, सुनकोशी र अरुणसमेत खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेको बताइएको छ।

त्यस्तै, कनकाई, बुढी खोला, लोहन्द्रा, खेशलैया र विरिङजस्ता चुरे–महाभारत क्षेत्रबाट उत्पन्न नदीहरूमा पनि खतरा तह पार भई अहिले घट्दो अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।

You may also like