गुल्मीमा बस दुर्घटना, १५ घाइते

by समतल अनलाइन
148Shares

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार करिब ३ः२५ बजे बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको टाटा कम्पनीको बस (लु १ ख ७७७६) सडकबाट करिब ५.७ मिटर तल खस्दै स्थानीय मनिष कुँवरको खाली घरमा अड्किएको अवस्थामा भेटिएको हो।

बस चालक गुल्मी इस्मा गाउँपालिका–४ का ४४ वर्षीय बीर बहादुर गुरुङ रहेका छन्। बस घुम्तीमा पुगेपछि ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक जगन्नाथ पाण्डेको नेतृत्वमा प्रहरी र ट्राफिक टोली घटनास्थलमा खटिएको थियो। घाइते सबैलाई उपचारका लागि गुल्मी अस्पताल, तम्घास पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये इस्मा गाउँपालिका–६ अमरपुरका २१ वर्षीय नबिन महत, ३१ वर्षीय सहचालक दिपक पराजुली, २२ वर्षीय रेशम भण्डारी र ७३ वर्षीया हरिकला कुमाललाई मध्यम चोट लागेको छ। बाँकी घाइतेहरूलाई सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ।

अन्य घाइतेहरूमा राधिका बस्नेत, उनकी छोरी कोपिला बस्नेत, छोरा अनिल बस्नेत, सरिता कुमाल र उनका छोरा कृष्ण कुमाल, सन्त बहादुर कुमाल, चन्द्री कुमाल र उनका नाति ईश्वर कुमाल, सरिता महत, सचिन महत तथा लक्ष्मी बिष्ट रहेका छन्।

दुर्घटनामा बस र घर दुवैमा पूर्ण क्षति भएको छ। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like