बुटवल । बुटवललाई लामो समयदेखि कलाको माध्यमबाट आफ्नो कर्मथलो बनाएका तीन जना युवा – सागर खनाल, मेनुका थापा र टेक जीएमले संयुक्त रुपमा ‘डान्स एकेडेमी’ सञ्चालनमा ल्याएका छन्।
चलचित्र छायांकार तथा निर्देशक मनिष पन्थको प्रमुख आतिथ्यमा रिबन काटी एकेडेमीको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा बोल्दै उनले बुटवलबाट धेरै राष्ट्रियस्तरका कलाकार जन्मिएको उल्लेख गर्दै निरन्तर लगनसाथ आफ्नो विधामा अघि बढ्नेले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ एकेडेमीले पनि उत्कृष्ट कलाकार उत्पादन गर्ने आशा व्यक्त गर्दै आफूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
उद्घाटन कार्यक्रममा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष सुन्दर गुरुङ, संघकी महिला उपाध्यक्ष मिना बुढाथोकी, तिनाउ गाउँपालिकाका पूर्व वडाअध्यक्ष तथा समाजसेवी राजेश श्रेष्ठ, बिमला खनाल, नारायण गाहा, जुना घर्तीनगर, मदन घर्तीनगर, अमित रानामगर, सिवानी थापा मगर, सुरेश राना लगायतको उपस्थिति रहेको थियो।
संचालक सागर खनालका अनुसार उक्त एकेडेमीमार्फत नृत्य, जुम्बा, अभिनय सिकाउनासाथै कोरियोग्राफी, म्युजिक भिडियो, फिल्म र टेलिफिल्म निर्माणमा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ।