नेपाल प्रेस युनियनले भारतीय पत्रकाकरहरुलाई शान्ति भूमि भगवान गौतमबुद्धको जन्मस्थलमा स्वागत गरेको छ । त्यस अवसरमा दुई देश बिचको पर्यटकीय सूचना आदान प्रदानमा जोड दिईएको छ ।
भारतको सिद्धार्थनगरमा सेप्टेम्बर १८ र १९ मा सम्पन्न भारतीय पत्रकार संघ (आईजेयू)को राष्ट्रिय कार्यकारिणी बैठकमा सहभागी भारतका विभिन्न २२ राज्यका पत्रकारहरूको टोलीलाई नेपाल प्रेस युनियनले रुपन्देहीको लुम्बिनीमा स्वागत गरेको हो । उक्त अवसरमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)की उपाध्यक्ष सबीना इनद्रजीत, इण्डियन जर्नालिष्ट युनियनका अध्यक्ष श्री गीतार्थ पाठकसहित ३० जना भारतीय पत्रकारहरू सहभागी थिए ।
बैठकपछि नेपाल प्रेस युनियनको निमन्त्रणामा लुम्बिनी आएका भारतीय पत्रकारहरूलाई नेपाल युनियन रुपन्देहीले नेपाल भारत सिमा कक्रहवा नाका पुगेर स्वागत गरी लुम्बिनी ल्याएको हो । भारतीय पत्रकारहरुलाई नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल उपाध्यक्ष माधव अर्याल, रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल लगायतले सिमामा पाल्पाली ढाका टोपी र प्रेस युनियनको लोगो अंकित खादा लगाई गर्नुभएको थियो ।
त्यस्तै लुम्बिनीको मायाँदेवी मन्दिरमा लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राईले स्वागत गर्दै लुम्बिनी र लुम्बिनीका विविध पक्ष सहित इतिहासदेखि वर्तमान सम्मको बारेमा जानकारी गराउनु भयो । उहाँले भारतीय पत्रकारहरुलाई लुम्बिनीमा स्वागत गर्न पाउँदा आफूहरु निकै खुसी भएको पनि बताउनु भयो ।
त्यस अवसरमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाल–भारतबीच सदियौँदेखि रहिआएको मित्रवत सम्बन्धलाई स्मरण गर्दै यस भ्रमणले दुई देशबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपाल र भारतबीच रोटी–बेटीको मात्र नभई भौगोलिक, शासकीय र सामाजिक संरचनासमेत मिल्दोजुल्दो रहेको उल्लेख गर्दै पत्रकारस्तरमै भएको यस्तो आदानप्रदानले भविष्यमा नयाँ ऊर्जा प्रदान गर्ने धारणा राख्नु भयो ।
त्यसैगरी नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले भारत र नेपाल दुवै देशका नागरिकबीच आपसी सद्भाव रहिआएको र दुबै देशका पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा पत्रकारहरूको भूमिकाले पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा आईएफजेकी उपाध्यक्ष सबीना इनद्रजीतले नेपाल र भारतमा पर्यटनको अपार सम्भावना रहे पनि विभिन्न आन्दोलन तथा आपराधिक गतिविधिले यस क्षेत्रमा अवरोध पु¥याइरहेको उल्लेख गर्दै यस्ता चुनौतीलाई सम्बोधन गर्न पत्रकारहरूले कलममार्फत योगदान दिनुपर्ने आवश्यकतामा जोड दिनु भयो ।
इण्डियन जर्नालिष्ट युनियनका अध्यक्ष गीतार्थ पाठकले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा पत्रकारिताको मुख्य दायित्व रहेको स्मरण गराउँदै पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच सूचनाको आदानप्रदानलाई प्राथमिकतामा राखिनु पर्ने विचार व्यक्त गर्नु भयो ।
सिद्धार्थनगरमा सम्पन्न राष्ट्रिय कार्यकारिणी बैठकमा नेपालसहित भुटानका पत्रकारहरूको पनि सहभागिता रहेको थियो । बैठकमा उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री तथा सांसद जगदम्बिका पालले बैठकमा प्रस्तुत गरिएका विषयलाई संसदसम्म पुर्याइने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । श्रमजीवी पत्रकार युनियन उत्तरप्रदेशका अध्यक्ष शिवप्रकास गौडका अनुसार बैठकमा पत्रकारहरूको सुरक्षा तथा अधिकार सुनिश्चित गर्ने नयाँ संकल्प गरिएको गरिएको छ ।