प्रधानमन्त्री कार्कीले थप पाँच मन्त्रीको नाम सिफारिस

by समतल अनलाइन
60Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

सिफारिस भएकामध्ये सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय दुईवटैको जिम्मेवारी दिने तयारी भएको छ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन्। मन्त्री बन्ने सम्भावना प्रस्ट भएपछि उनले आइतबार राजीनामा दिएकी थिइन्।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीका लागि पत्रकार जगदीश खरेलको नाम सिफारिस गरिएको छ। दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय खरेल हाल इमेज टेलिभिजनका सम्पादक थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनले सम्हाल्ने भएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन ग्रामीण भेगमा इन्टरनेट सेवा विस्तार र आविष्कार प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन्। उनले यसअघि रोमन म्यागासेसे पुरस्कार समेत प्राप्त गरेका थिए।

त्यस्तै, कृषिमन्त्रीमा मदन परियारलाई सिफारिस गरिएको छ। परियार पहिलो संविधानसभाले गठन गरेको राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका संयोजकसमेत रहेका थिए।

यसअघि नै प्रधानमन्त्री कार्कीले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जामन्त्री र ओमप्रकाश अर्याललाई गृहमन्त्रीमा नियुक्त गरिसकेकी छन्।

You may also like

This will close in 0 seconds