बुटवलमा पुसको मेला : उद्योग व्यापार संघ र रुपन्देही उद्योग संघ आमनेसामने

by समतल अनलाइन
67Shares

बुटवल । एक वर्षअघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव–२०८२ मा भाँजो नहाल्न उद्योग व्यापार संघ बुटवलले रुपन्देही उद्योग संघलाई आग्रह गरेको छ ।

संघले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म प्रदर्शनी आयोजना गर्ने निर्णय गर्दै गत पुस २१ गते नै बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको थियो । त्यसको भोलिपल्ट पुस २२ गते पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी पनि दिएको थियो ।

यस्तै मेला आयोजना गर्न स्थान स्वीकृतिका लागि शहरी विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा निवेदन दिइएको थियो । समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईलाई पुस ४ अगावै निर्माण कार्य सम्पन्न गरी स्थान उपलब्ध गराउन निर्देशनसमेत गरेको उद्योग व्यापार संघले जनाएको छ ।

करिब ३० प्रतिशत तयारी पूरा भएको अवस्थामा रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि सोही स्थानमा प्रदर्शनी गर्ने भन्दै बोर्ड गाडेपछि उद्योग व्यापार संघले आपत्ति जनाएको हो । उद्योग व्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेका अनुसार आफ्नो संस्थाले एक वर्षदेखि तयारी गर्दै आएको मेलाबारे महिनौँसम्म मौन बसेको रुपन्देही उद्योग संघले एक्कासी बोर्ड राखेर सरासर गलत काम गरेको हो ।

‘बुटवलका चार व्यवसायिक संस्थाबीच भएको सहमतिलाई तोडमोड गरेर बलमिच्याई गरिएको छ,’ अध्यक्ष पाण्डेले आइतबार पत्रकार सम्मेलनमा भने, ‘हामीले यसअघिका तीन मेलामा अन्य संस्थालाई सहयोग गरेका थियौँ, यसपटक हाम्रो पालो आएको हुँदा मेलामा अवरोध सह्य हुँदैन ।’

बुटवलमा उद्योग व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ र रुपन्देही उद्योग संघ गरी चार संस्था अगुवा संगठनका रुपमा क्रियाशील छन् । यी संस्थाबीच आलोपालो गरी प्रदर्शनी गर्ने सहमति रहेको उद्योग व्यापार संघले दाबी गरेको छ ।

संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०७८ सालमा देविनगरमा मेलाको आयोजना गर्दा अन्य तीन संस्थाको नामसमेत उल्लेख गरी आलोपालोमा विवाद नहोस् भनेर प्रष्ट्याइएको बताए । ‘चौथो पालो स्वाभाविकरूपमा हाम्रो संस्थाकै हो,’ उनले भने, ‘यदि हामीलाई बाइपास गरियो भने मेलामा कसैलाई सफल हुन दिइने छैन ।’

निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले पनि २०७८ को मेलामा उद्योग संघले अवरोध गर्न खोजेको स्मरण गर्दै, ‘यो पटक पनि मेलामा भाँजो हाल्ने प्रयास राम्रो होइन, हामी पुस ५ देखि मेला सञ्चालन गरेरै छाड्छौँ,’ भने ।

त्यसैगरी बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले चार संस्थाबीच सहमतिका आधारमा अघि बढ्नुपर्ने सुझाव दिए । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पदम जीसी, महासचिव यमलल मरासिनी लगायतले पनि आफ्नो भनाइ राख्दै रुपन्देही उद्योग संघले दादागिरी देखाएमा सशक्त प्रतिवाद हुने चेतावनी दिए ।

तर रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले भने २०७८ सालमै चार संस्थाबीच भएको समझदारीअनुसार आफूहरुले प्रदर्शनी गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्योग व्यापार संघको बुझाइमा भने रुपन्देही उद्योग संघले यसपटक मेलामा भाँजो हाल्न र विवाद निम्त्याउन मात्रै चार महिनाअघि निर्णय गरेको हो ।

You may also like

This will close in 0 seconds