काठमाडौं । जापानमा एक सय वर्ष नाघेका मानिसहरूको संख्या एक लाख नाघेको छ । जापान सरकारले १०० वर्ष वा त्योभन्दा बढी उमेरका मानिसहरू अहिले सर्वाधिक सङ्ख्यामा भएको घोषणा गरेको छ।
जापानमा विश्वभरिकै लामो औसत आयु छ। शतायु व्यक्तिहरूको सङ्ख्यामा जापान ५५ वर्षदेखि निरन्तर अग्रस्थानमा छ। जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सेप्टेम्बर महिनासम्म त्यस्ता मानिसको सङ्ख्या ९९,७६३ थियो। तीमध्ये ८८ प्रतिशत महिला छन्।
जापानका स्वास्थ्यमन्त्री ताकामारो फुकोकाले ८७,७८४ शतायु महिला र ११,९७९ शतायु पुरुषलाई दीर्घजीवन प्राप्त गरेकोमा बधाई दिँदै ‘समाजको विकासमा उनीहरूले लामो समयदेखि पुर्याएको योगदानका लागि कृतज्ञता’ व्यक्त गरे।
जापानलाई तीव्र गतिमा बुढ्यौलीतिर उन्मुख समाज पनि मानिन्छ। जापानीहरू आरोग्यवर्धक आहार गर्छन् तर त्यहाँ जन्मदर निकै न्यून छ।
सबैभन्दा वृद्ध मानिएकी जापानी नागरिक अहिले ११४ वर्षकी भइन्। शिगेको कागावा नामक ती महिला नारा सहरको बाह्य भागमा बस्छिन्। सबैभन्दा वृद्ध पुरुष चाहिँ १११ वर्षीय कोयोताका मिजुनो हुन्। उनी तटीय सहर इवाताका बासिन्दा हुन्।
वृद्धवृद्धासम्बन्धी तथ्याङ्क १५ सेप्टेम्बेरमा जापानमा मनाइने ज्येष्ठ नागरिक दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो। उक्त दिन जापानमा सार्वजनिक बिदा थियो।
जापान सरकारले सन् १९६३ मा शतायु सर्वेक्षण थाल्दा १०० वर्ष वा त्यसभन्दा बढी उमेर भएका मानिसको सङ्ख्या केवल १५३ थियो।
जापानमा हृदयरोग एवं स्तन र प्रोस्टेट क्यान्सरबाट निकै कम मानिसको मृत्यु हुने भएकाले त्यहाँ मानिसहरूको आयु उच्च भएको मानिन्छ।
जापानमा मोटोपना हुने समस्या पनि कम छ। जापानीहरूको आहारमा चारखुट्टे जीवको मासु कम तर माछा र सागपात बढी हुने भएकाले त्यहाँ मोटोपनाको समस्या न्यून छ। मोटोपनाका कारण हृदयरोग र क्यान्सर हुने सम्भावना बढ्छ।
जापानी महिलाहरूमा मोटोपनाको समस्याबाट पीडित हुने दर निकै कम छ। जापानी पुरुषभन्दा महिलाहरूको आयु बढी हुनुको कारण त्यो पनि हुन सक्ने ठानिन्छ।
(बीबीसीबाट)