काठमाडौं । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भावुक हुँदै एकजना किसान एकलाख रुपैयाँ बोकेर पुगेका छन् । अकबरे बेचेको रकम बोकेर शितगंगाका किसान तुलसीराम अधिकारी सिडिओ कार्यालय पुगेका हुन् ।
त्यहाँ पुगेर उनले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई भने, ‘सिंहदरबार जल्दै गर्दा मलाई मेरो आस्था जलिरहेजस्तो लाग्यो। बरू मेरो घर जल्दा फरक पर्ने थिएन होला। मलाई त्यति धेरै चोट परेको छ।’ उनले यसो भनिरहँदा उनको आँखा रसाउन थालिसकेको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको सहयोगमा लसीरामले ल्याएको एक लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको थियो । सो रकम आफूले अकबरे बेचेर ल्याएको उनले बताएका थिए । कोषमा जम्मा गरिएको भौचर तुलसीरामले प्रजिअ अर्याललाई सोमबार हस्ताणतरण गरेका हुन् ।
तुलसीराम अधिकारी ब्यानरसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ब्यानरमा माथिपट्टि जलिरहेको सिंहदरबारको तस्बिर थियो भने तल ‘म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश’ भनेर रातो अक्षरले लेखिएको थियो ।
खोटाङ घर भएका अधिकारी विगत ५/६ वर्षदेखि शितगंगा नगरपालिका-२ सीतापुरमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । दुई घण्टा गाडी चढेर जिल्ला प्रशासन कार्यालय पुगेका उनले ध्वस्त पारेको सिंहदरबार पुनर्निर्माणका लागि एकलाख जम्मा गरेर शितगंगा फर्किएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अधिकारीले अकबरे खुर्सानी, टिमुर, काँक्रा, टमाटर, बन्दागोभीलगायत तरकारी खेती गर्दै आएका छन् ।