जेन्जी आन्दोलनपछि खाँण परिवारको घरमा स्थानीयद्वारा सरसफाइ

by समतल अनलाइन
100Shares

बुटवल । जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेका पूर्वमन्त्री बालकृष्ण खाँण, तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँण र उहाँका भाइ श्यामकृष्ण खाँणको घरमा सोमबार स्थानीयले सरसफाइ गरेका छन्।

तिलोत्तमा–८, चार नम्बरमा रहेका उहाँहरूको घरमा छरछिमेकी, आफन्त तथा शुभेच्छुकहरूले सरसफाइ अभियान चलाएका हुन्। भदौ २४ गते भएको आगजनीमा एउटै कम्पाउन्डभित्र रहेका तीन घर तथा अन्य संरचनाहरू पूर्णरूपमा नष्ट भएका थिए। स्थानीयका अनुसार आगो निभाउन जाँदा प्रदर्शनकारीहरूले रोकेकाले खाँड दाजुभाइका घर बचाउन नसकिएको हो।

नगरप्रमुख रामकृष्ण खाँणले राजनीतिमा सक्रिय नभएका आफ्ना भाइ श्यामकृष्ण खाँडको घरमा समेत आन्दोलनकारीहरूले आगजनी गर्दा गहिरो पीडा लागेको बताए। “९० वर्षकी आमासहित सारा परिवार प्रभावित भएका छौँ। अहिले बस्ने उचित ठाउँसमेत छैन, हामी पूर्ण रूपमा शून्यतामा पुगेका छौँ,” उनले भने।

खाँणले जेन्जी आन्दोलनका मागलाई सकारात्मक भन्दै तर त्यस क्रममा भएका तोडफोड, आगजनी र ज्यानमाथि भएका आक्रमणप्रति दुख व्यक्त गरे। “देशमा परिवर्तन र भ्रष्टाचार अन्त्य गर्ने माग जायज थिए। तर आन्दोलनलाई दुस्प्रभावित बनाएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु ठूलो पीडा हो। हामी पनि त्यसको चपेटामा परेका छौँ,” उनले भने।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

वि.सं. २०२० सालतिर स्याङ्जाबाट बसाइँसराइ गरेर हालको तिलोत्तमा–८ मा स्थायीसँगै बसोबास गर्दै आएको खाँड परिवार नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छ। यसबीच, आन्दोलनकारीहरूले खाँण परिवारले पालेका कुखुरा समेत चोरेर लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

You may also like