अविरल वर्षाले तिलोत्तमाको दीर्घायु अस्पताल डुबानमा, उपचार सेवा प्रभावित

by समतल अनलाइन
109Shares

बुटवल । आइतबार राति देखि परेको अविरल वर्षाले तिलोत्तमा–५ मणिग्राममा रहेको दीर्घायु अस्पताल डुबानमा परेको छ। पानीको निकास अवरुद्ध हुँदा १५ शैय्याको प्राकृतिक चिकित्सालय पूरै जलमग्न भएको हो। डुबानका कारण अस्पतालको उपचार सेवा प्रभावित बनेको छ।

अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल अस्पताल नआउन अनुरोध गरिएको छ। अस्पताल नजिकै बनेको तरकारी तथा फलफूल थोक बजारको पर्खालले पानीको निकास रोकिदा डुबानको समस्या उत्पन्न भएको अस्पतालका सञ्चालक नारायणप्रसाद पाण्डेले बताए।

निकास अवरुद्ध हुँदा अस्पताल मात्र होइन, त्यहाँसम्म पुग्ने सडक र वरपरका बस्ती समेत जलमग्न भएका छन्। एफएम टोलसम्मै पानी पस्दा आवतजावतमा समेत समस्या भएको छ। “विगतका वर्षमा पनि यस्तै समस्या आएको हो। वडासँग पटक–पटक कुरा गर्दा पनि ठोस पहल भएको छैन,” पाण्डेले गुनासो गरे।

२०७५ सालमा स्थापना भएको यस प्राकृतिक चिकित्सालयमा फिजियोथेरापी, हाइड्रोथेरापी लगायतका उपचार हुँदै आएको छ। डुबानका कारण नियमित उपचारका बिरामी र योगाभ्यास गर्ने स्थानीयहरु समेत प्रभावित भएको योग प्रशिक्षक उमा ढकालले बताइन्। “जनप्रतिनिधिले यो विषयमा गम्भीर ध्यान दिन जरुरी छ,” उनले भनिन्।

वडा अध्यक्ष रमेश डुम्रेले विद्युत् पोल ढलेको स्थानबाट नयाँ कुलो निकाल्ने विषयमा छलफल भइरहेको जानकारी दिए। “बस्ती बाक्लिँदै जाँदा निकास राम्रो नभए वर्षेनी समस्या हुने गर्छ। यसका लागि बजेट व्यवस्था गरी स्थायी समाधानको प्रयास गर्दैछौँ,” उनले बताए। उनका अनुसार पिल्सिफर कुला विस्तार र मर्मतका लागि करिब डेढ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

नगरपालिकामा तीव्र सहरीकरणसँगै निकासको यथोचित व्यवस्थापन नहुँदा मणिग्रामलगायतका क्षेत्रमा हरेक वर्ष डुबानको समस्या देखिँदै आएको छ। नगरले प्रयास गरे पनि ठोस र दीर्घकालीन समाधान ननिकालेसम्म समस्या यथावत रहने स्थानीयको भनाइ छ।

You may also like