बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोडपछि लुटपाट गरिएका सामग्री खरिद-विक्री नगर्न आग्रह गरेको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै लुटपाटमा संलग्न व्यक्तिहरु पहिचानमा सहयोग पुग्ने कुनै फोटो, भिडियो वा अन्य प्रमाण भएमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, ‘प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन तथा पसलमा आगजनी र तोडफोड गर्नु अघि त्यहाँ रहेका जिन्सी तथा नगद सामग्री लुटपाट गरी लैजाने घटना भएका छन् । ती सामग्री बजारमा खरिद नगर्न-नगराउन अनुरोध गरिएको छ ।’
त्यस्ता चोरी वा लुटिएका सामान खरिद वा सञ्चय गरेको पाइए प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही हुने कार्यालयले जनाएको छ ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न समूहको सीसी टिभी फुटेज, तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिंकहरू [email protected] मा पठाई सहयोग गर्न आग्रह गरेको छ । साथै, सूचना उपलब्ध गराउने व्यक्तिको गोपनीयता सुरक्षित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।