आन्दोलन ‘हाइज्याक’ भएको भन्दै बालुवाटार घेराउ, प्रधानमन्त्री कार्कीको राजीनामा माग

by समतल अनलाइन
47Shares

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ समूहले बालुवाटार घेराउ गरेको छ ।मन्त्री छनौटप्रति असहमति जनाउँदै सो समूहले प्रधानमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेको हो ।

जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतलाई लिएर बालुवाटार पुगेका सुदन गुरुङ समूहले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

गुरुङ गृहमन्त्री बन्ने सामाजिक सञ्जालमा चर्चा थियो । तर, आइतबार साँझ तीन मन्त्री छनौट हुँदा ओमप्रकाश अर्याललाई गृहको जिम्मेवारी दिइएको छ ।

गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए। फेरि आन्दोलन हुन सक्ने चेतावनी दिएका थिए।

गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

युवाहरु नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।आन्दोलनको नेतृत्व आफूहरूले गरेको तर,अरुले ‘हाइज्याक’ गरेको असन्तुष्ट समूहको आरोप छ ।

पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय–भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।

उनले यी नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। उनीहरूको शपथ आज गराउने तयारी रहेको सोमबार हुने शीतल निवास स्रोतले जानकारी दिएको छ।

You may also like