जेन–जी आन्दोलनमा वडा अध्यक्ष फर्सुराम गिरीको घरमा आगजनी र लुटपाट, ३२ तोला सुनसहित सम्पत्ति नष्ट

by समतल अनलाइन
85Shares

तिलोत्तमा ।तिलोत्तमा नगरपालिका–१ का वडा अध्यक्ष फर्सुराम गिरीको परिवारमाथि भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको हिंसाले उनीहरूलाई भौतिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि गहिरो चोट दिएको छ।

आन्दोलनका नाममा उत्रिएको भीडले अध्यक्ष गिरीको दुईतले घरमा आगजनी, तोडफोड र लुटपाट गरेको थियो। परिवारका सदस्यहरू पछाडिको ढोकाबाट भागेर ज्यान जोगाउन सफल भए पनि घरभित्रको सम्पूर्ण सम्पत्ति क्षतिग्रस्त भयो। अध्यक्ष गिरीकी पत्नी देवी, जो साना किसान सहकारी संस्थामा वरिष्ठ प्रबन्धक छिन्, आजसम्म पनि त्यो दिन सम्झिँदा स्तब्ध हुन्छिन्।

‘घर जल्नु त एउटा पक्ष भयो, तर दराज फोडेर, पलङका घर्रा भत्काएर खोजी–खोजी लुटिएको थाहा पाएपछि मनै अमिलो भयो,’ अध्यक्ष गिरीले आँशु झार्दै भने।

पूर्वमुख्यमन्त्री लिला गिरीको घरमा आगजनी भएपछि त्यसैको छेवैमा रहेको अध्यक्ष गिरीको घर पनि उस्तै विनाशमा परेको थियो। तल्लो तला जलेको, माथिल्लो तलामा तोडफोड भएको र त्यहाँका सामान आगनमा फ्याँकेर जलाइएको परिवारले जनाएको छ।

घटनामा विवाह, दाइजो र दशकौँको मेहनतले संकलन गरिएका करिब ३२ तोला सुनका गहना, नगदसहित ६४ इन्चको टेलिभिजन, माइक्रोओभन, इन्डक्सन चुल्हो, भान्साका सामग्री, मोटरसाइकल र साइकल सबै नष्ट भए। कलेज जाने क्रममा छोरा स्वीकारले साथमा लगेको गाडी मात्र जोगियो।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका, सौरीबोटबाट २०४९ सालतिर तिलोत्तमा आएका गिरी परिवारले पसिना बगाएर जोहो गरेको सम्पत्ति एकैपटक गुमाउनुपरेको छ। अध्यक्ष गिरी भन्छन्–‘छोराको बिहेमा जोहो गरेका, मेरी श्रीमतीको विवाहमा आएका र बीचमा जोडिएका सबै गहना लुटिए। भएभरको सम्पत्ति गयो।’

स्थानीयवासीले अध्यक्ष गिरीलाई सादगी, इमानदारिता र सेवाभावको प्रतीकका रूपमा लिँदै आएका छन्। उनी भन्छन्–‘जायज मागमा समर्थन छ, तर आन्दोलनको नाममा व्यक्तिगत सम्पत्ति जलाउनु र लुट्नु आपराधिक हो। यसको निष्पक्ष छानबिन हुनुपर्छ।’

प्रहरीले मुचुल्का उठाएपछि परिवारले भग्नावशेष सफा गर्न थाले पनि देवी अझै माथिल्लो तलामा जान सकेकी छैनन्। शोकमा डुबेको गिरी परिवार अहिले पनि लुटिएका गहना र हराएका सम्झनामा आँसु पुछिरहेकै छ।

You may also like