संसद् विघटनको निर्णय फिर्ता लिन ८ दलको माग

by समतल अनलाइन
40Shares

काठमाडौं ।प्रमुख ८ राजनीतिक दलका प्रमुख सचेतकहरुले संयुक्त विज्ञप्ति निकाल्दै संसद विघटनको विरोध गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी संसद विघटन असंवैधानिक भएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजीर र संवैधानिक परम्पराविपरीत छ।ु जननिर्वाचित संस्थामाथि प्रहार गरिएको यो कदम लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक सर्वोच्चतालाई कमजोर पार्ने कार्य भएको भन्दै उनीहरुले गम्भीर ध्यानाकर्षण गराएका छन्।

ुसंविधान र कानूनी व्यवस्थाले नै समस्याको समाधान दिन्छ भन्ने अटल विश्वास रहेको भन्दै प्रतिनिधि सभा विघटनको निर्णय तत्काल फिर्ता लिई संसदको बैठक बोलाउन उनीहरुले विज्ञप्तिमार्फत माग गरेका हुन् ।

नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने ८ राजनीतिक दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसैबीच ८ दलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

You may also like