बुटवल। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस तेश्रो चरणको गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) प्राप्त गर्ने नेपालकै पहिलो क्याम्पस बनेको छ। नेपालकै नमुना सामुदायिक क्याम्पसको रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेश्रो चरणको क्यूएए प्राप्त गरेको हो।
व्यवस्थापन संकायको मात्र पठनपाठन हुँदै आएको क्याम्पसले यसअघि पहिलो पटक २०६८ सालमा र दोश्रो पटक २०७५ सालमा गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्राप्त गरेको थियो। तेश्रो चरणको क्यूएए प्रमाणपत्र शुक्रवार काठमाण्डौंमा प्रदान गरिएको हो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक अर्याल र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्राध्यापक डा. तारा प्रसाद उपाध्याय र क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई उक्त प्रमाणपत्र प्रदान गरेका हुन्।
कार्यक्रमका वक्ताहरूले काठमाण्डौं भन्दा बाहिर रहेको लुम्बिनी वाणिज्य क्याम्पस तेस्रो चरणको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्ने नेपालकै पहिलो क्याम्पस भएकोमा बधाई दिएका थिए।
बुटवलका उद्योगी व्यवसायी र शिक्षाप्रेमीहरूको सक्रियतामा स्थापना गरिएको लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन सङ्कायमा प्रवीणता प्रमाणपत्र तहको पठनपाठन सुरु गरेको थियो।
क्याम्पसको तेस्रो चरणको क्यूएएका लागि विदेशी विज्ञ सहितको टोलीले अन्तिम चरणको मूल्याङ्कनको लागि २०८१ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचकभित्र रहेर सरोकारवालाहरूसँग छलफल गरेको थियो।
यसबिचमा विश्वविद्यालय अनुदान आयोगको टोलीलेले क्याम्पसका विद्यार्थी, प्राध्यापक/कर्मचारी, अभिभावक, क्याम्पस सञ्चालक समिति, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरूसँग छुट्टाछुट्टै छलफल गरी तयार गरेको प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा बुझाएको थियो।
विदेशी विज्ञसहितको टोली र विश्वविद्यालय अनुदान आयोगको टोलीले बुझाएका प्रतिवेदनको आधारमा क्याम्पसले तेस्रो चरणको क्यूएए प्राप्त गरेको हो।
क्यूएए प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले विद्यार्थी, प्राध्यापक/कर्मचारी, अभिभावक लगायतका स्थानीय समुदायको सबैको सहयोगले क्याम्पसको यो उपलब्धि प्राप्त गरेको बताए।
क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले गुणस्तरको अन्तिम विन्दु नहुने भएकाले गुणस्तर अभिवृद्धिमा क्याम्पस निरन्तर अगाडी बढिरहेको बताए। उनले विश्वविद्यालय अनुदान आयोगबाट बेलाबेलामा प्राप्त विभिन्न सुझावहरूलाई कार्यान्वयन गर्दै जाँदा तेस्रो पटक क्यूएए पाउने नेपालकै पहिलो शैक्षिक संस्था बन्न सकिएको बताए।
लुम्बिनी वाणिज्य क्याम्पस २०७५ र २०८० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा नेपाल सरकारबाट पुरस्कृत र २०७६ सालमा लुम्बिनी प्रदेश प्रज्ञा पदक द्वितीयबाट विभूषित भएको थियो।
गुणस्तरीय शिक्षामा अब्बल रहेको क्याम्पसले पटक पटक विश्वविद्यालय प्रथम, दोस्रो, तेस्रो समेत हुने गरेको छ भने क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँच वटा स्वायत्त कार्यक्रमहरू सञ्चालन गरेर विश्वविद्यालयको जग तयार पार्ने काम गरिरहेको छ। हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थीहरू अध्ययनरत तथा ४८ जना प्राध्यापक र २५ जना कर्मचारी कार्यरत छन्।
तत्कालीन बुटवल नगर पञ्चायत तथा बुटवलका उद्योगी व्यवसायीहरूको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा सञ्चालन गरेको थियो।
पाँच वर्ष पछि २०४२ सालमा स्नातक तहको बि.कम. र २०५७ सालमा स्नातकोत्तर तहको एम.वि.एस कक्षा सञ्चालन गरेको क्याम्पस २०६३ सालमा ए स्किममा पर्न सफल भएको थियो।
त्यस्तै २०७० सालमा पहिलो पटक सेमेस्टर प्रणालीको वि.वि.एम. र २०७४ सालदेखि स्वायत्त कार्यक्रम अन्तर्गत एम.वि.ए. वि.एफ, २०७६ सालमा वि.वि.एफ.ए र एम.वि.एस. फाइनान्स, २०७७ सालबाट वि.वि.एम अप्लाइड, वि.एम.एस.का कक्षाहरू सञ्चालन गर्दै आएको छ।
क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दाबी गरे। क्याम्पस प्रमुख उपाध्यायका अनुसार क्याम्पसले हरेक वर्ष २ जना प्राध्यापकलाई एम.फिल. तथा पी.एच.डी. अध्ययनको लागि ३ वर्षे तलबी अध्ययन बिदा उपलब्ध गराउँदै आएको छ।
४५ वर्ष व्यवस्थापन सङ्कायको मात्र अध्यापन गराउँदै आएको क्याम्पसलाई अहिले भने मानित विश्वविद्यालयको रूपमा स्थापित गर्दै बहु सङ्काय क्याम्पसको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।
निकट भविष्यमा मानित विश्वविद्यालयको रूपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि सङ्काय थप गरी बहु सङ्काय क्याम्पसको रूपमा विकास गर्न बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० विगाह जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।