सत्यवती गाउँपालिकाको ५७ करोड ६५ लाख बजेट पारित, बालश्रममुक्त र पोषणमैत्री कार्यक्रम प्राथमिकतामा

by समतल अनलाइन
Shares

गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको १७औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८२/८३का लागि ५७ करोड ६५ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।

गाउँपालिकाले यस वर्षको बजेटमा मानव विकास, कृषिको विकास, शिक्षा, स्वास्थ्य, पोषण सुधार, बालश्रम अन्त्य र वातावरण संरक्षणलाई विशेष प्राथमिकतामा राखेको छ।

गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार, “यो वर्षको बजेटको मूल मर्म नै मानव विकास हो। हरेक नागरिकको जीवनस्तर उकास्ने, आयआर्जनमा जोड दिने, र गरिबी निवारण गर्ने हाम्रो प्रमुख लक्ष्य हो। त्यसका लागि कृषि, शिक्षा, स्वास्थ्य र सीप विकासलाई विशेष प्राथमिकतामा राखिएको छ।”

उहाँले थप भन्नुभयो, “जीविकोपार्जनका अवसर बढाउनका लागि कृषि र पशुपालनमा लगानी गरिएको छ। उत्पादन बढाएर आत्मनिर्भर गाउँ बनाउने हाम्रो योजना छ।”

त्यसैगरी गाउँपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै सबैभन्दा बढी बजेट विनियोजन गरेको छ।
गुल्मी जिल्लाका १२ पालिकामध्ये सत्यवती गाउँपालिका कृषि र पशुपालनमा पहिलो स्थानमा रहेको अध्यक्ष पाण्डेले बताउनुभयो।

गाउँपालिकाबाट वार्षिक ६ करोड रुपैयाँ बराबरको दूध निर्यात हुने गरेको छ, जुन कृषि क्षेत्रको सशक्त सम्भावना र सफलताको प्रमाण हो।

त्यसैगरि शिक्षा क्षेत्रमा पनि गाउँपालिकाले राम्रो प्रगति गरेको छ। गुल्मी जिल्लाका १२ वटा पालिकामध्ये सत्यवती गाउँपालिका शिक्षा क्षेत्रमा तेस्रो स्थानमा परेको छ।

गत वर्षको एसईई परीक्षामा सत्यवती माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले ४.०० जिपे ल्याउन सफल भएका थिए। अध्यक्ष पाण्डेका अनुसार, “शिक्षालाई गुणस्तरीय बनाउन, आधारभूत पूर्वाधारदेखि शिक्षक प्रशिक्षणसम्ममा लगानी बढाइएको छ।”

गाउँपालिकाले स्वास्थ्य सेवा विस्तारमा पनि बजेट छुट्याएको छ।

अध्यक्ष पाण्डेले भन्नुभयो, “गाउँपालिकाका सबै स्वास्थ्य चौकी र केन्द्रमा आवश्यक इक्विपमेन्टहरू (उपकरण) उपलब्ध गराइरहेका छौं। सेवा प्रभावकारी बनाउन संरचना र जनशक्ति दुवैको सुधारमा ध्यान दिइएको छ।”

गाउँपालिकाले बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ शून्य बालश्रम गाउँपालिका बनाउने अभियान सुरु गर्ने जनाएको छ। साथै, पोषणमैत्री गाउँपालिका बनाउन आमा–शिशु पोषण, विद्यालय खाजा, र पोषण सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

You may also like