अध्ययन बिदाको दुरुपयोग : त्रिविले माग्यो तलबभत्ता ब्याजसहित फिर्ता

by समतल अनलाइन
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक तथा कर्मचारीहरूसँग तलबभत्ता ब्याजसहित फिर्ता लिन प्रक्रिया अघि बढाएको छ।

त्रिविले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र रकम बुझाउन अनुरोध गरेको छ। साथै, सो रकम त्रिविको तोकिएको बैंक खातामा जम्मा गरी लिखित जानकारी आर्थिक प्रशासन शाखामा पेश गर्न पनि भनिएको छ।

त्रिविको नियमानुसार, स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) तहको अध्ययन तथा अनुसन्धानका लागि अध्ययन बिदा लिएका शिक्षक–कर्मचारीहरूले सो अवधिभर त्रिविमा अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ। तर पछिल्लो समय अध्ययन बिदाको दुरुपयोग भएको पाइएपछि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो।

केही प्राध्यापक अध्ययन बिदा लिएर विदेश गएर उतै बसेको, केहीले अध्ययन नै पूरा नगरी फर्किएको, भने केही सेवा अवधिमा नफर्किएको पाइएपछि त्रिविले छानबिन समिति गठन गरेको थियो। सो समितिले करिब चार सय प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदनका आधारमा त्रिविले ती शिक्षक–कर्मचारीहरूले अध्ययन बिदा अवधि भर पाएको तलबभत्ता र त्यसमा लाग्ने ब्याजसहित फिर्ता गर्ने निर्णय लिएको हो।

पाँच वर्षसम्म अध्ययन बिदा लिई तलबभत्ता खाएर अन्ततः शिक्षण वा प्रशासनिक सेवामा नफर्किने प्रवृत्तिका कारण विश्वविद्यालयलाई ठूलो आर्थिक नोक्सानी भएको छ। त्रिविको अनुमानमा यस्तो दुरुपयोगबाट करिब दुई अर्ब रुपैयाँ उठ्न सक्नेछ।

उठाइने सो रकम त्रिविले निवृत्तिभरण कोषमा राख्ने योजना बनाएको छ, जुन हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेत उल्लेख गरिएको छ।

You may also like

This will close in 0 seconds