तिलोत्तमामा प्राविधिक शिक्षा विस्तार हुँदै, नर्सिङ र फार्मेसी कक्षा सञ्चालनको तयारी

by समतल अनलाइन
Shares

बुटवल । तिलोत्तमा नगरपालिका–१४ स्थित तिलोत्तमा सिटी कलेजमा अब प्राविधिक शिक्षा पढ्न सकिने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ देखि यो कलेजमा पिसिएल नर्सिङ र डिप्लोमा इन फार्मेसी कक्षा सञ्चालन गरिने भएको हो। सिटीइभिटीसँगको सम्बन्धनमा ती कक्षाहरू सञ्चालन गर्न नगरसभाले नीतिगत निर्णय गर्दै आवश्यक बजेट समेत विनियोजन गरेको थियो। त्यसपछिको प्रक्रियामा सिटीइभिटीले कक्षा सञ्चालन गर्न स्वीकृति प्रदान गरिसकेको जानकारी प्राप्त भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको निर्णय अनुसार दुबै कक्षामा ४०–४० जना विद्यार्थी भर्ना लिएर पढाइ सुरु गरिने जनाइएको छ। तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन सोचअनुसार अघि सारेको यो योजना अन्ततः कार्यान्वयनको चरणमा पुगेको हो।

नगर प्रमुख रामकृष्ण खाणले यो उपलब्धिलाई तिलोत्तमाको गौरवको योजना अन्तर्गत लामो समयदेखिको निरन्तर प्रयासपछि आएको सफलता भन्दै खुसी व्यक्त गरे। उनका अनुसार तत्कालीन जनप्रतिनिधिहरूदेखि हालसम्मका जनप्रतिनिधिहरू, नगर कर्मचारी र स्थानीय समुदायको सहयोगले योजना सार्थक भएको हो।

नगर प्रमुख खाणले भने, “अब तिलोत्तमाका विद्यार्थीले घरमै बसेर गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाउनेछन्। सर्बसुलभ शिक्षा दिने हाम्रो लक्ष्य आज संस्थागत स्वरूपमा देखिएको छ।”

नगरपालिकाको लगानीमा निर्माण भएको सो भवन विगतमा प्रयोगविहीन रहँदै आएको थियो। तर हालै सम्पन्न बजेट नीति तथा कार्यक्रममार्फत कक्षा सञ्चालनका लागि आवश्यक बजेट पनि छुट्याइएको छ। अब यो भवन शिक्षाको मुख्य आधार बन्नेछ। नगरपालिकाले स्थानीय तहबाटै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित अघि सारेको यो कदमले सम्पूर्ण नगरवासीका लागि साकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds