बुटवल।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२, डिभर्ना बासखर्क गाउँमा छोराले बुवाको हत्या गरी शव मलखातामा गाडेको घटना सार्वजनिक भएको छ।
४० वर्षीय झुपे नेपालीले आफ्नै ७२ वर्षीय पिता जंगबहादुर नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। प्रहरीका अनुसार झुपेले बुधवार दिउँसो मदिराको मातमा रिसको झोकमा बुवाको टाउकोमा दाउरा प्रहार गरेर हत्या गरेका हुन्।


हत्या पछिपछि शवलाई घर नजिकै रहेको मलखातामा गाडिएको अवस्थामा फेला पारिएको थियो। घटना बाहिरिएपछि प्रहरीले झुपे नेपालीलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
झुपे पहिले पनि प्रहरीले अभद्र व्यवहारको आरोपमा नियन्त्रणमा लिएको व्यक्ति हुन्। करिब दुई महिनाअघि उनी सार्वजनिक स्थलमा हुलदंगा गरेको आरोपमा पक्राउ परेका थिए।
छिमेकी तथा वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले दोस्रो विवाह गरेपछि झुपे जन्मेका थिए र सानैदेखि बासखर्कमा हुर्किएका हुन्। उनका अनुसार झुपे दिनभर मदिरा सेवन गर्ने, घरमा झगडा गर्ने, अशान्ति मच्चाउने गरेकै कारण परिवारमा तनाव रहने गर्थ्यो।
“बुधवार झगडा भएको समयमा आमा घरमा नभएको मौका छोपेर उनले बुवाको हत्या गरेका रहेछन्,” श्रेष्ठले भनिन्, “पछि खोजतलास गर्दा मलखातामा गाडिएको अवस्थामा शव भेटियो।”
घटनास्थलमा पुगेर प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ भने थप अनुसन्धान भइरहेको जनाएको छ।