बुटवल । बुटवल लेडी जेसीजले सञ्चालन गरेको साताव्यापी “जेसीज सप्ताह” कार्यक्रम शनिबार समापन भएको छ। गत शनिबारदेखि सुरु गरिएको यो सप्ताह विभिन्न सचेतनामूलक कार्यक्रमका साथ सम्पन्न भएको हो।

कार्यक्रमको समापन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेका थिए। समापन समारोहमा प्रमुख अतिथि रहेका पाण्डेयले महिला नेतृत्व र विकासका क्षेत्रमा लेडी जेसीजले खेल्दै आएको भूमिकाको प्रशंसा गरे।
समापन कार्यक्रम बुटवल लेडी जेसीजकी अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. कृष्ण खरेल, बुटवल जेसीज अध्यक्ष मोहन न्यौपाने, लेडी जेसीजका पूर्व अध्यक्षहरू बालकुमारी भण्डारी र राधिका पोखरेल, कार्यक्रम संयोजक रुपा श्रेष्ठ पाठक, समापन कार्यक्रम संयोजक विनु रिजाल लगायतले महिला नेतृत्व, क्षमता विकास र सामाजिक योगदानका विषयमा आ–आफ्ना विचार राखेका थिए।
यसै अवसरमा शनिबार नै झण्डै २०० जनाको सहभागितामा ‘अटिजम समस्या र समाधान’ विषयक अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा देवदह मेडिकल कलेजकी प्राध्यापक डा. शान्ता शर्माले सहजीकरण गर्दै अटिजमसम्बन्धी समस्या, सही हेरचाह, सुधार प्रयास र व्यवहारिक उपायहरूबारे सहभागीहरूलाई जानकारी दिएकी थिइन्।
कार्यक्रमका महासचिव वेदना पाण्डे र संयोजक मञ्जु थापाले अटिजम सम्बन्धी जनचेतनामूलक यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता जनाए।