काठमाडौं । राष्ट्रपति बनेपछि करिब एक दशकदेखि औपचारिक रूपमा राजनीति छाडेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार) आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गर्ने भएकी छन् । पति मदन भण्डारीको ७५औं जन्म जयन्तीको अवरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ ले आयोजना गर्ने बृहत् कार्यक्रममार्फत उनले आफू पुनः एमालेको राजनीतिमा फर्किएको उदघोष गर्न लागेकी हुन् ।

कार्यक्रम काठमाडौँको भृकुटीमण्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा हुनेछ । राष्ट्रपति पदबाट बिदा भएलगत्तै यसअघिदेखि नै एमाले नेता–कार्यकर्तालाई भेट्न देशदौडाहा गरिरहेकी भण्डारीले आज भने आफू औपचारिक रूपमा पार्टीको राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी हुन् । आज ७४ औं मदन जयन्तीको अवसरमा आयोजना गरिएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रमको ओली र भण्डारीले गर्ने सम्बोधन गर्न लागेका हुन् । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्रीतथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ । ओली र भण्डारीले गर्ने सम्बोधन राष्ट्रव्यापी चासोको विषय बनेको छ ।
२०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी भण्डारी २०७४ फागुन २९ मा लगातार दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चुनिइन् । २०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यालय (शीतलनिवास) बाट बाहिरिएकी उनी फेरि पार्टी राजनीतिमा फर्किन लागेकी हुन् । राष्ट्रपति हुनुअघि उनी एमालेमा उपाध्यक्ष थिइन् ।
अहिले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चाले प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएको चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ। त्यसैले यस कार्यक्रममा सहभागी हुन्छन्, हुँदैनन् अन्योल भने छ । तर उनी साँझ मात्र स्पेनका लागि प्रस्थान गर्ने भएकाले मदन भण्डारी फाउन्डेसनको कार्यक्रम भ्याउने सम्भावना पनि छ । तर यसबीच पनि अन्य केही महत्वपूर्ण कार्यक्रम तय भइसकेकाले ओलीलाई समय मिलाउन हम्मे परिरहेको फाउन्डेसनका पूर्व अध्यक्ष महेन्द्रबहादुर पाण्डेले बताएका छन् ।
फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले भने प्रधानमन्त्री ओली आफैले कार्यक्रममा सहभागी हुने जानकारी दिएको बताएकी छन् । एमालेमा पछिल्लो समय विभिन्न कमिटी र जनसंगठनहरुको नेतृत्वको दावी गरेर नपाएका, चुनाव लडेर संस्थापनका उम्मेदवारसँग पराजित भएका तथा पार्टी संस्थापनसँग विमति राख्ने नेता–कार्यकर्ताहरुले संगठितरुपमै विद्या भण्डारीलाई पार्टी नेतृत्व लिन दबाब दिइरहेका छन् । भण्डारी पनि परिस्थिति बन्दै गएपछि तयार भएको नेताहरु बताउँछन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा मदन भण्डारी हीरक जयन्ती मूल समिति बनाएर देशव्यापी वार्षिक कार्यक्रम गर्ने तयारी भए पनि पार्टीमा यसबारे छलफल र निर्णय नभएको केन्द्रीय कार्यालयले जनाएको छ । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पोखरेल ७० वर्षे उमेर हदका कारण अध्यक्ष ओली र आफूसहितका नेता बिदा हुने र विद्या भण्डारीले नेतृत्व गर्दा फरक नपर्ने लाइनमा खुलेका छन् ।