बुटवल–६ मा किरियापुत्री भवन उद्घाटन, ८१ व्यक्ति तथा संस्थालाई सम्मान

by समतल अनलाइन
Shares

बुटवल।बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले नयाँ किरियापुत्री भवनको उद्घाटन गर्नुका साथै विभिन्न क्षेत्रका ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।

वडाको चाँदबारीस्थित ५६ लाख लागतमा निर्माण गरिएको छ कोठे किरियापुत्री भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। भवन निर्माणमा प्रदेश सरकारको २५ लाख र बाँकी ३१ लाख बुटवल उपमहानगर र वडा कार्यालयको साझेदारीमा जुटाइएको हो।

भवनको उद्घाटन बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख साबित्रा देवी अर्याल, वडा अध्यक्ष लोकनाथ न्यौपाने र वडा सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

उद्घाटनपश्चात आयोजित सम्मान कार्यक्रममा सम्पत्ति कर तिर्ने उत्कृष्ट पाँच व्यक्ति, बहाल कर तिर्ने पाँच व्यक्ति, सम्पत्ति तथा बहाल कर तर्फबाट दुई/दुई संस्था, सामाजिक सेवा गर्ने २० व्यक्ति, तीनवटा उपभोक्ता समिति, आठ टोल विकास संस्था, सात संस्था, सातवटा आमा समूह, ११ धार्मिक संस्था, तीन जेष्ठ नागरिक तथा तीन जना कर्मचारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवलले विकासको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको उल्लेख गर्दै अहिले तिनको प्रतिफल देखिन थालेको बताए। “अब नगरवासीले विकासको अनुभूति गर्न थालेका छन्,” पाण्डेयले भने।

नगर उपप्रमुख साबित्रा देवी अर्यालले बुटवल उपमहानगरले महिला तथा युवालाई रोजगारमूलक कार्यक्रमसँग जोड्दै आएको बताइन्। “आवश्यक तालिमका लागि माग भए उपमहानगरकै खर्चमा तालिम दिन सकिने व्यवस्था गरिएको छ,” उनले भनिन्।

वडा अध्यक्ष लोकनाथ न्यौपानेले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामहरूको विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा पनि वडामा राम्रो बजेट आउनेमा आशावादी रहेको बताए।

किरियापुत्री भवन उपभोक्ता समिति अध्यक्ष श्यामप्रसाद पाण्डेले अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण भएको दाबी गर्दै वडाबासीका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका क्रममा वडाका अति विपन्न परिवारहरूलाई चामल वितरण गरेर सहयोग प्रदान गरिएको वडा कार्यालयका कर्मचारी नारायण प्रसाद खनालले जानकारी दिए।

You may also like