बुटवल। पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट र वडा नं. ३ मा पर्ने रिमिघा लेक क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा फेला परेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरमा गरिएको परीक्षणले यार्सागुम्बा नै भएको पुष्टि गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।
गत साता रिमिघा लेक क्षेत्रमा झाडी सफा गरी सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्दा यार्सागुम्बाजस्तो वस्तु फेला परेको थियो। प्रारम्भिक रूपमा संकास्पद देखिएको उक्त वस्तुलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो। परीक्षणले यार्सागुम्बा नै भएको पुष्टि गरेपछि पाल्पाका स्थानीय तह र सरोकारवाला निकाय उत्साहित भएका छन्।
यार्सागुम्बा भेटिएको खबर सार्वजनिक भएसँगै रम्भा गाउँपालिकाले उक्त क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै रिमिघा लेक क्षेत्र आसपासमा केही दिनका लागि सर्वसाधारणलाई नजान अनुरोध गरेको छ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा कारणले केही दिन सो क्षेत्रमा आवतजावत निषेध गरिएको जानकारी दिए। ‘रिमिघा लेकमा भेटिएको वस्तु यार्सागुम्बा नै भएको प्रमाणित भएको छ,’ उनले भने, ‘तर कुन प्रजातिको हो र त्यसको औषधीय गुण कति छ भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ।’
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पनि यार्सागुम्बा नै भेटिएको पुष्टि गरे। तर उनका अनुसार उक्त नमुनाको औषधीय गुण, आर्थिक मूल्य र वैज्ञानिक पक्ष अझै अध्ययन हुन बाँकी छ।
समुद्री सतहबाट ३,५०० मिटरदेखि ५,५०० मिटर उचाइका हिमाली र उच्च पहाडी भू–भागमा पाइने यार्सागुम्बा पाल्पाको १,८०० मिटर उचाइमा फेला परेको छ। यो निकै दुर्लभ मानिन्छ। यस्तो कम उचाइमा यार्सागुम्बा भेटिनु वैज्ञानिक र वनस्पति अनुसन्धानको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।
यार्सागुम्बाको औषधीय मूल्य अतुलनीय मानिन्छ। यसको प्रयोग शक्तिवर्धक टनिक, क्यान्सर, क्षयरोग, मिर्गौला, कलेजो, फोक्सोको संक्रमण, रक्तअल्पता, हृदय रोगजस्ता विविध रोगको औषधिमा हुने गर्छ। आयुर्वेद चिकित्सकहरूका अनुसार यो च्याउ र पुतलीको लार्भाको मिलनबाट बनेको प्राकृतिक जडीबुटी हो।
विश्व बजारमा अत्यन्त महँगो दरमा कारोबार हुने यार्सागुम्बाको आपूर्तिमा नेपाल चीनपछि दोस्रो स्थानमा पर्छ। नेपालको डोल्पा, मुगु, जुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, डार्चुला, संखुवासभालगायत उच्च हिमाली जिल्लाहरू यार्सागुम्बाका प्रमुख भण्डार हुन्। अब पाल्पाजस्तो मध्यम पहाडी जिल्लामा पनि यसको उपस्थिति देखिनु औषधीय वनस्पति अनुसन्धानको नयाँ ढोका खोल्नसक्ने संकेत हो।
वन कार्यालय प्रमुख भट्टराईका अनुसार यार्सागुम्बा भेटिएको क्षेत्रमा अहिले अनुसन्धान टोली परिचालन गर्ने तयारी भइरहेको छ। साथै स्थानीय जनशक्तिको प्रशिक्षण, संरक्षणको नीति, निषेधित क्षेत्र घोषणा, र दीर्घकालीन व्यवस्थापनबारे छलफल भइरहेको छ।
रिमिघा लेक र आसपासका बासिन्दामा यार्सागुम्बा भेटिएको खबरले ठूलो उत्साह देखिएको छ। स्थानीय बासिन्दा देवराज विक भन्छन्, ‘पहिला डोल्पा मुगुमा मात्रै पाइन्छ भन्ने थाहा थियो। अब हाम्रो ठाउँमै यार्सागुम्बा भेटिनु गर्वको कुरा हो।’
हाल गाउँपालिकाले सो क्षेत्रमा निगरानी बढाएको छ भने वैज्ञानिक अध्ययनका लागि विज्ञ टोली आउने तयारीमा छन्। संरक्षणका उपायहरू अपनाउँदै यसको दिगो उपयोगका लागि योजना बनाइने गाउँपालिकाले जानकारी दिएको छ।