सामूहिक लगानीबाट ठूलो सफलता हासिल गर्न सकिन्छ: भिजन लुम्बिनीको १० वर्षे यात्रा

Shares

भिजन लुम्बिनीको १० औँ वार्षिकोत्सवका अवसरमा बुटवलमा भएको ‘सामूहिक लगानी र समृद्धि’ अन्तरक्रियामा साना‑साना पूँजीलाई एकीकृत गरी सही व्यवस्थापन गर्न सके ठूला उपलब्धि हासिल गर्न सकिने निष्कर्ष निकालिएको छ ।

अध्यक्ष जगतबहादुर पोखरेलले २०७२ सालमा स्थापना भएको भिजन लुम्बिनीले कर्पोरेट संस्कृति र विधिको शासन स्थापित गर्ने लक्ष्यसहित १ हजार ६ सय शेयर सदस्य जोडेर ऊर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना‑प्रविधि क्षेत्रमा ९ वटा कम्पनीको नेतृत्व गरेको र पोखरा–कास्कीमा २५ मेगावाटको सेती जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गरी विद्युत् उत्पादन थालिएको जानकारी दिए । उनले बोल्नेभन्दा काम गरेर देखाउने अभियानका रूपमा भिजनलाई ‘भिजन नेपाल’काे बृहत अवधारणा बनाइदै २ लाखदेखि ५ लाख रुपैयाँसम्मको सामूहिक लगानी संकलन गरी देशभरका लगानीकर्तालाई जोड्ने लक्ष्य सुनाए ।

सञ्चालक सदस्य कुलबहादुर केसीले १० वर्षमा ९ कम्पनी स्थापनासहित राष्ट्रिय सञ्जाल बनाइएको बताए । ऊर्जा कम्पनी अध्यक्ष सुदीपसिंह अधिकारीले सेती जलविद्युत् सफलपछि थप परियोजनातर्फ तयारी भइरहेको बताए ।

अन्तरक्रियामा नेकपा नेता शरद वली, राप्रपा प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरे, नेपाल मजदुर किसान पार्टी जिल्ला अध्यक्ष हरिसुन्दर बासी, कांग्रेस नगर उपसभापति ज्योति भण्डारी, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंलगायतले सामूहिक लगानीले आधारभूत तह समेटी बुटवलमा अपार सम्भावना खोलिदिएको धारणा व्यक्त गरे ।

संयोजक राजीव गौतमले सम्भावित क्षेत्र पहिचान गर्दै थप लगानी मोडेल विकास गरिने जानकारी दिए ।

You may also like