52
चितवन राष्ट्रिय निकुञ्जभित्रको नारायणी नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२८ स्थित नदीमा हिजो साँझ तैरिरहेको अवस्थामा देखिएको शवलाई प्रहरी निरीक्षक रामचन्द्र घिमिरे नेतृत्वको टोलीले बाहिर निकाल्दा टाउको र कम्मरमुनिको भाग गोहीले क्षति पुर्याएको पाइएको छ ।
मृतकको पहिचान अहिलेसम्म खुलेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार वरपरका बस्ती र हराएको भनेर दर्ता भएका उजुरीहरूसँग तुलना गरी पहिचान हुन सकेको छैन ।
पोष्टमार्टमका लागि शवलाई नवलपरासीको मध्यबिन्दु अस्पताल पठाइएको छ । प्रारम्भिक अनुमानअनुसार गोहीको आक्रमण मुख्य कारण देखिए पनि विस्तृत रिपोर्टपछि मात्र यथार्थ खुल्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ र स्थानीयलाई नदी आसपास सावधानी अपनाउन आग्रह गरिएको छ ।