काठमाडौं।विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन्।
चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन्। उनका अनुसार शुक्रबारको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन्।
ती घटनाहरूबाट रु एक करोड आठ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ। ती घटनाबाट दुईवटा पशुचौपायसमेत मरेका छन्। प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएका छन्। अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ।