दीप बोर्डिङ हाई स्कुलमा नतिजा प्रकाशनसहित पुरस्कार वितरण

Shares

बुटवलदीप बोर्डिङ हाई स्कुलले शुक्रबार शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन, पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा कक्षागत तथा तहगत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो। साथै, विद्यालयको प्रगति र सफलतामा योगदान पुर्‍याउने अभिभावकहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो।

एसइइ २०८० मा ए प्लस ग्रेड प्राप्त गर्ने दीप बोर्डिङ हाई स्कुलका साथै अन्य विद्यालयबाट कक्षा ११ मा भर्ना भएका उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। साथै, विएलईमा ४ जीपीए ल्याउने, कक्षा नर्सरीदेखि १२ सम्म निरन्तर अध्ययन गर्ने, कक्षा ११ को वार्षिक परीक्षा र एसइइ प्राक्टिस इक्जाममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रममा एसइइ तथा एसएलसीमा शतप्रतिशत नतिजा निकाल्न योगदान पुर्‍याउने शिक्षकहरू, विद्यालयमा नियमित उपस्थित हुने शिक्षक तथा कर्मचारीहरू, सेवानिवृत्त शिक्षक/कर्मचारी र उत्कृष्ट प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो।

चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने उनीहरूले बनाएका चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो। साथै, विद्यालयको डेल्टा क्लबले सामाजिक सचेतनासम्बन्धी नाटक प्रस्तुत गरेको थियो।

सांस्कृतिक कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले स्वागत गीत, सरस्वती वन्दना नृत्य, अन्य नृत्य प्रस्तुति, सांस्कृतिक भेषभूषा प्रदर्शन तथा कराँते डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए। विद्यार्थी आशिका पाण्डेले आफ्नो अनुभव पनि साझा गरेकी थिइन्।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोजूँको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सह-अध्यक्ष गोपाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका एसोसिएट डिन डा. हेमराज काफ्ले विशिष्ट अतिथि रहनुभएको थियो।

अन्य अतिथिहरूमा लुम्बिनी प्रदेश अभिभावक संघका अध्यक्ष हेम थापा, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, बुटवल अभिभावक संघ अध्यक्ष तेजेन्द्र खनाल, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनका एसिस्टेन्ट प्रोफेसर डा. सिद्धार्थ ढुङ्गाना, विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, सामाजिक विषय प्रमुख वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठ र सदस्य विष्णुमाया श्रेष्ठको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय र छवि ज्ञवालीले गर्नुभएको थियो।

You may also like

skip


This will close in 5 seconds