दुर्गा प्रसाई भारतमा पक्राउ

Shares

काठमाडौं । तीनकुनेको हिंसात्मक राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यबाट उनी पक्राउ परेका हुन् । उनलाई झापाको काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै गरेको स्रोतले जनाएको छ ।

प्रसाई प्रहरीको सम्पर्कमा पुगेको उनको परिवारले पनि पुष्टि गरेको छ । तर, प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको परिवार स्रोतले बताएको छ । प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कदै छन् । प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो । उनी फरार भएपछि दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

प्रसाई भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो । विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो । प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका थिए ।

तर, हिजो बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित भएको बताएका थिए । उनले आफ्नो सुरक्षा भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने समेत बताएका थिए । चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो । तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।

You may also like

skip


This will close in 5 seconds