बुटवल । रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहरले सेमिफाइनलमा स्थान बनाएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला, मुर्गियामा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा अभिषेक चर्चले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुआतमै अभिषेक चर्चले अग्रता लिएको थियो । खेल सुरु भएको २ मिनेटमै जर्सी नम्बर ७ का सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । एपीएफका जर्सी नम्बर ७७ का भरत कपालीले ११ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरे पनि गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण स्कोर थप्न सकेनन् । अभिषेक चर्चको उत्कृष्ट प्रहारलाई एपीएफका गोलकिपर अतिप श्रेष्ठले पटक–पटक बचाएका थिए ।

दोस्रो हाफमा खेल अझ रोमाञ्चक बन्यो । खेलको ४६ औं मिनेटमा अभिषेक चर्चका शक्ति गुरुङले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि दुवै टिमले आक्रामक खेल खेलेका थिए, तर अभिषेक चर्चका गोलकिपर तोप बहादुर राणाले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए । यो जितसँगै अभिषेक चर्च सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बिहीबार महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ७ लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले जनही ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी (राईजिङ प्लेयर) र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ । प्रतियोगितामा ए डिभिजन क्लब, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागिता रहेको छ ।