सिद्धार्थनगरमा दुई विधेयक पारितसँगै विकास योजनाहरू अघि बढ्दै

by समतल अनलाइन

भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हिउँदे सभाको १७औं अधिवेशनबाट दुई विधेयक पारित गरेको छ। नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापनसम्बन्धी विधेयक र २०७४ को नगर शिक्षा ऐन संसोधनसम्बन्धी विधेयकलाई पारित गरेको हो।

सोमबार भैरहवा स्थित महेन्द्र सभागृहमा आयोजित सभामा नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरणसहित यी विधेयकहरू प्रस्तुत गरेका थिए। छलफलपश्चात सभाले दुवै विधेयक पारित गरेको हो। यससँगै सिद्धार्थनगरमा प्राविधिक कर्मचारी करारमा नियुक्त गर्न बाटो खुलेको छ। विधेयकअनुसार इन्जिनियरिङ, कृषि, पशुपालन, स्वास्थ्य तथा अन्य प्राविधिक कर्मचारी करारमा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, शिक्षा ऐन संसोधनपछि नगर शिक्षा समितिमा उपप्रमुखसमेत सदस्य रहने व्यवस्था गरिएको छ। यसका साथै, नगर प्रमुखलाई अध्यक्षका रूपमा उल्लेख गरिएको वाक्यांशपछि “नगर उपप्रमुख उपाध्यक्ष” थप गरिएको छ।

सभामा चालु आर्थिक वर्षको प्रगतिबारे जानकारी दिँदै नगर प्रमुख खाँले ५७औं स्थापना दिवस २०८१ भव्य रूपमा सम्पन्न भएको, नगर सरसफाइ, सडक बत्ती व्यवस्थापन, तथा विभिन्न स्थानमा स्मार्ट लाइट जडानको कार्य सम्पन्न भएको बताए।

उनले छाडा चौपाया व्यवस्थापन, दिगो फोहोरमैला व्यवस्थापन, नगर सौन्दर्यकरणका लागि तीनपाङ्ग्रे रिक्सा तथा ठेला व्यवस्थापन, पार्किङ सुधार तथा अनधिकृत संरचना हटाउने कार्यहरू सञ्चालन भइरहेको जानकारी गराए। साथै, नगरपालिकाको नीतिगत निर्णय कार्यान्वयनका लागि १५ जना नयाँ नगर प्रहरी नियुक्त गरिएको समेत उल्लेख गरे।

त्यस्तै, सिद्धार्थनगर नगरपालिकामा नेपाल सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट प्राप्त भौतिक पूर्वाधार योजनाहरू कार्यान्वयनको प्रक्रियामा रहेको बताए। पौष मसान्तसम्म ५९ वटा योजनाहरूका लागि सार्वजनिक सूचना प्रकाशित भइसकेकोमा ४६ योजना सम्झौता भइसकेका छन् भने १३ योजनाहरू सम्झौताका प्रक्रियामा रहेको जानकारी गराइयो।

ठेक्का खोलिएका योजनाहरू पूरा भएपछि ५.७ कि.मि. ग्राभेल सडक, ६.५ कि.मि. नाली निर्माण, ३५२ मिटर आरसीसी सडक, तथा १२ वटा आरसीसी भवन निर्माण सम्पन्न हुनेछन्। नगरपालिकाका विभिन्न स्थानमा १३९.७५ मिटर पर्खाल निर्माण कार्यसमेत सम्पन्न हुनेछ। साथै, प्रशासनीक भवन निर्माण सम्पन्न भएपछि सोही भवनबाट सेवा प्रवाह सुरु गरिनेछ।

नगर उपप्रमुख उमा अधिकारीले एसियाली विकास बैंक, नेपाल सरकार तथा सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन लागेको यूआरएलआईपी योजनाको सम्झौता सम्पन्न भइसकेको र छिट्टै कार्य प्रारम्भ हुने जानकारी दिइन्। प्रमुख प्रशासकीय अधिकृत जनक थापाले डण्डा करिडोर निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन भइरहेको तथा शहरी विकास मन्त्रालयमार्फत यसको कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताए।

 
 
  
 

You may also like