बुटवल। रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयले आफ्नो ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षालाई सीपसँग जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै शिक्षाको अवसरबाट कोही पनि बञ्चित हुन नहुने कुरामा आफू सचेत रहेको उल्लेख गरे।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बन्जाडे, शिक्षा तालिम केन्द्र लुम्बिनीका प्रमुख दिवाकर भण्डारी, नेपाल शिक्षक संघ रूपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी लगायतका वक्ताहरूले विद्यालयको शैक्षिक स्तर उन्नयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय उत्कृष्ट भए तापनि विद्यार्थी संख्याका आधारमा दरबन्दी अभाव रहेको भन्दै शैक्षिक गुणस्तर सुधारका लागि सरकारी सहयोगको दायरा बढाउन आग्रह गरे। वार्षिकोत्सवका अवसरमा विद्यालयको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। ५० जना शिक्षक-कर्मचारी, १ जना सेवा निवृत्त शिक्षक, ७ जना समाजसेवी, १९ जना उत्कृष्ट अभिभावक, र १० जना अक्षयकोषदाता सम्मानित भए। विद्यालयका सक्रिय क्लबहरूमध्ये आर्ट क्लब र स्काउट क्लबलाई पनि सम्मान गरिएको थियो। यसैगरी, कक्षा १२ उत्तीर्ण गरी पूर्ण छात्रवृत्तिमा उच्च शिक्षाका लागि छनोट भएका ५६ जना विद्यार्थीहरू, एसईईमा A+ ल्याउने ५६ जना र कक्षा १२ मा A+ ल्याउने ३९ जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। साथै, वर्ष उत्कृष्ट विद्यार्थीको रूपमा ११ जनालाई विशेष सम्मान प्रदान गरियो। विद्यालयले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा विभिन्न विद्यालयहरूले भाग लिएका थिए। एभरेस्ट माध्यमिक विद्यालय प्रथम हुँदै रु. १२,००० नगद पुरस्कार जित्न सफल भयो। न्यू होराइजन बोर्डिङ स्कुल द्वितीय हुँदै रु. ९,००० नगद पुरस्कार प्राप्त गर्यो। कान्ति मावि तृतीय हुँदै रु. ७,००० नगद पुरस्कार प्राप्त गर्यो। सुनगाभा बोर्डिङ स्कुल प्रोत्साहन स्थानमा पर्दै रु. ४,५०० नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गर्यो। प्रतियोगिताका संयोजक मोहन पौडेलले विद्यालयको शैक्षिक गतिविधिलाई अझ प्रभावकारी बनाउन यस्ता प्रतियोगिताहरू महत्वपूर्ण रहेको बताए।
शिक्षा क्षेत्रका गतिविधिहरूलाई पत्रकारितामार्फत प्रचारप्रसार गर्ने योगदानस्वरूप पत्रकार सञ्जु पौडेललाई स्व. फत्तबहादुर–देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। उनलाई दोसल्ला, करुवा तथा नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए।
वार्षिकोत्सवको अवसरमा विशाल पुस्तक सदन, बुटवल बुक्स मार्ट, ग्यालेक्सी बुक्स, र श्रीराम बुक्स एन्ड स्टेशनरीको सहकार्यमा पुस्तक प्रदर्शनी समेत आयोजना गरिएको थियो। प्रदर्शनीमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले विभिन्न पुस्तकहरू खरिद गरेका थिए। वार्षिकोत्सवलाई आकर्षक बनाउन विद्यार्थीहरूले पिटी प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरू प्रस्तुत गरेका थिए। विद्यालयमा हाल ६,३०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने २२९ जना शिक्षक-कर्मचारी कार्यरत छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले दिएका थिए भने सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्यले सञ्चालन गरेका थिए।








