बुटवल। जन्मदिन मनाउने परम्परागत शैलीलाई परिवर्तन गर्दै सामाजिक कार्यमार्फत उत्सव मनाउने अभियानअन्तर्गत “‘जन्मदिनको स्मारिका नमुना पार्क'” को औपचारिक उद्घाटन गरिएको छ। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त पार्कको उद्घाटन गर्दै वृक्षारोपण अभियानको सराहना गरेका छन्।
उद्घाटन कार्यक्रममा मन्तव्य दिँदै अर्थमन्त्री पौडेलले बताए, “वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै जन्मदिनलाई अर्थपूर्ण बनाउने यो अभियान प्रेरणादायी छ। यस्तो पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ। सरकार वातावरणीय सन्तुलन कायम राख्न यस्ता कार्यक्रमलाई सधैं प्रोत्साहन गर्नेछ।” साथै, उनले आफ्नो जन्मदिनको अवसरमा “जन्मदिनको स्मारक पार्क” मा वृक्षारोपणको प्रतिबद्धता जनाउँदै, यस्तो अभियानलाई आफ्नो समर्थन र प्रोत्साहन प्रदान गर्ने बताएका छन्।
विगत पाँच वर्षदेखि जन्मदिनमा वृक्षारोपण गर्दै आएको नमस्ते नेपाल संस्थाले यो अभियानलाई अझ व्यापक बनाउने उद्देश्यसहित माघ १५ गतेदेखि औपचारिक रूपमा “जन्मदिनको स्मारक पार्क” अभियान सञ्चालन गरेको छ। यसै अभियानअन्तर्गत संस्थाका कोषाध्यक्ष वरदान आचार्यको जन्मदिनको अवसरमा तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगर दुर्गादत्त माविको प्राङ्गणमा वृक्षारोपण गरिएको थियो।
यस अभियानलाई निरन्तरता दिँदै बिहीबार तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको जन्मदिनमा पनि वृक्षारोपण गरिएको छ। नगरप्रमुख खाँणले नमस्ते नेपालका युवाहरूलाई “देशमा आशाको ज्योति” भन्दै सराहना गरे। उनले वर्तमान समयमा युवाहरू विदेशिने क्रम बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै, स्वदेशमै सकारात्मक कार्य गर्ने यस्ता अभियानहरू प्रेरणादायी रहेको बताए।
“जन्मदिनको स्मारक पार्क” अभियानलाई प्रभावकारी बनाउन नमस्ते नेपाल संस्थाले स्थानीय निकाय तथा शैक्षिक संस्थाहरूसँग सहकार्य गर्ने जनाएको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हरियाली प्रवर्द्धन तथा विपद् व्यवस्थापन समिति संयोजक ईश्वरी भण्डारीले नमस्ते नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। संस्थापक अध्यक्ष अर्जुन खरेलले बताए कि जन्मदिनको अवसरमा सकारात्मक सन्देश दिनका लागि यस अभियानलाई नमुना रूपमा विकसित गरिनेछ।
विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले यो क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयमा यस्ता उदाहरणीय काम हुनु गौरवको विषय भएको बताए। वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेल, शिक्षक अभिभावक संघका अध्यक्ष पुरुषोत्तमनाथ पन्थ, सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य रेश्मीराज पाण्डे, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता मनिष भुसालले गरेका थिए।
यो अभियानले जन्मदिन मनाउने परम्परागत शैलीमा परिवर्तन ल्याउँदै, वातावरण संरक्षणको सकारात्मक सन्देश दिने महत्त्वपूर्ण कार्य गरेको नमस्ते नेपालका सदस्यहरूले व्यक्त गरे। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भव्य रूपमा पार्कको उद्घाटन गरिएको हो।