लुम्बिनी प्रदेशमा भोलि प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

by समतल अनलाइन

दाङ । लुम्बिनी प्रदेश सरकारले आठौं स्थापना दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। प्रदेश सरकारले माघ २१ गते सोमवार स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। प्रदेश सभा सचिवालय परिसरमा आयोजना गरिने मूल समारोहमा प्रदेश प्रमुखको विशेष उपस्थिति रहनेछ।

दिवसलाई उत्सवमय बनाउन बाजागाजा सहित झाँकी प्रदर्शन तथा विभिन्न मन्त्रालयका स्टलहरू राखिनेछ। साथै, माघ २०, २१ र २२ गते तीन दिनसम्म प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय तथा प्रदेशभरका कार्यालयहरूमा दीपावली गरिने कार्यक्रम तय गरिएको छ।

यस अवसरमा शितगंगा, लमही, शिवराज नगरपालिका तथा गढवा, राप्ती, राजपुर, सरुमारानी गाउँपालिकाले आ–आफ्नो कला, संस्कृति र भेषभूषा झल्काउने झाँकी प्रदर्शन गर्नेछन्। झाँकी प्रतिस्पर्धामा प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ। यसअघि माघ ২১ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसका रूपमा मनाइँदै आएकोमा अबदेखि दुवै दिवसलाई समेट्दै माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय गरिएको छ।

 
 
  
 

You may also like