विद्यार्थीको सिर्जनशीलता उजागर गर्ने ‘बीजीएसआर क्रियटिभ फेस्ट’ सुरु

by समतल अनलाइन

बुटवल। ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमास्थित ब्रिटिस ग्रामर स्कूल (नमस्ते एकेडेमी) मा आजदेखि ‘बीजीएसआर क्रियटिभ फेस्ट–२०८१’ सुरु भएको छ। यो फेस्ट विद्यालयले आयोजना गरेको तेस्रो संस्करण हो, जुन भोलिसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले गरेका छन्। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खाँणले शैक्षिक क्षेत्रको विकासमा निजी शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए। उनले निजी शैक्षिक संस्थालाई माफियाको दृष्टिले हेर्नु दुःखद भएको भन्दै, तिलोत्तमा नगरपालिकाले सामुदायिक र निजी विद्यालयलाई समान व्यवहार गर्ने बताउनुभयो।

विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीका अनुसार कार्यक्रम विद्यार्थीहरूको सिर्जनशीलता र मौलिकतालाई उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिन्छ। उनले भने, “यस कार्यक्रममा विद्यालयका सबै विद्यार्थी कुनै न कुनै गतिविधिमा सहभागी हुन्छन्। यसले विद्यार्थीहरूमा सहयोग, समन्वय र आत्मविश्वासको विकास गर्छ।”

विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले भने, “बीजीएसआर क्रियटिभ फेस्टले विद्यार्थीहरूको नेतृत्व सीप र क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। साथै, यसले विद्यार्थीहरूको लुकेको प्रतिभालाई उजागर गर्न योगदान पुर्याउँछ।”

कार्यक्रमका विशेषताबारे चर्चा गर्दै कुँवरले सामाजिक कार्यमा समेत योगदान पुर्याइने बताए। “विभिन्न कारणले पढ्न नसकेका विद्यार्थीहरूलाई सहयोग गर्न, विद्यार्थीहरूले आफैँ संकलन गरेका पुस्तक, कथा, र नाटक विक्री गर्छन्,” उनले थपे।

गत वर्ष एक दिन मात्रै सञ्चालन भएको कार्यक्रम यो वर्ष विद्यार्थीहरूको मागलाई ध्यानमा राख्दै दुई दिनसम्म विस्तार गरिएको छ।

कार्यक्रममा क्याफे, आर्केड, आर्ट एक्जिबिसन, रोबोटिक्स, फूड फेस्ट, हरर हाउस, मार्केट, र फोटो बुथजस्ता गतिविधि समावेश छन्।

 
 
  
 

You may also like