काठमाडौं । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि आज (मंगलबार) देशभरको मौसम मुख्यतया सफा रहने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो रहेको छ । तराई क्षेत्र तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
विभागले दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका अन्य भू–भागमा मौसम सफा रहनेछ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।
हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको थियो । हिजोको भन्दा आज तापक्रम केही बढेको हो । उनका अनुसार बिहान ५: ४५ बजे काठमाडौंको भिजिविलिटी ५ किलो मिटर रहेको छ । ‘तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ’, उनले भने, ‘तर, यो दिउँसोसम्म हट्नेछ ।’ भोलिबाट कमजोर न्यूनचापीय प्रणाली भित्रिनेछ । जसको प्रभाव अधिकांश प्रदेशमा पर्नेछ । जसका कारण मौसममा बदली हुनेछ । जसका कारण सातवटै प्रदेशमा आंशिक बदली हुनेछ ।
‘भोलिबाट कमजोर न्यूनचापीय प्रणाली आउँदै छ । जसका कारण सबै प्रदेशमा आंशिक बदली हुनेछ’, मौसमविद् प्रधानाङले भने, ‘मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ ।’ हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने नरहेको विभागले जनाएको छ ।