रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (आइतबार) तेस्रो दिन पनि अदालत उपस्थित हुँदैछन् । गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
शुक्रबार थुनछेक बहस नसकिएपछि पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई परिवारको जिम्मा लगाइएको थियो । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार रविको बयान भइ बिहीबारदेखि थुनछेक बहस शुरू भएको थियो । आइतबार पनि बहस निरन्तर हुने भएकाले लामिछाने अदालत उपस्थित हुने भएका छन् । आइतबार थुनछेक बहस सक्ने तयारी छ ।
बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका पाँच वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्नेछन् । यो मुद्दाको बहसमा सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेलसहित ८ जनाले बहस गरेका छन् भने सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका छन् ।
त्यस्तै लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापासहितका ३ जनाले बहस गरेका थिए । आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायणदत्त कंडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् । प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ । पूरक अभियोग पत्रमा जीबी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ ।
विज्ञान राई, नरेश जीसी, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारी पनि प्रतिवादी छन् । उनीहरूमध्ये कुमार रम्तेल र शिवबहादुर गुरुङ पहिले नै पक्राउ परेर पुर्पक्षा लागि कारागारमा छन् । कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।