आज कस्तो रहला देशभरको मौसम ?

by समतल अनलाइन

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज (शनिबार) दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले २ दिनदेखि देशका तराई क्षेत्रमा दिनभर नै हुस्सु र कुहिरो लागिरहेको र यो क्रम माघ १३ गते (आइतबार) सम्म जारी रहने सम्भावना देखिएको जनाएको छ। घाम नलागेर दिनभरिनै शीतलहर र हुस्सु / कुहिरोको कारण चिसो बढ्दा तराई मधेसको जनजीवन कष्टकर बनेको छ । विभागले शुक्रबार शीतलहरसम्बन्धी विशेष बुलेटिन जारी गरी माघ ९ गतेदेखि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु र कुहिरो लागिरहेको जानकारी दिएको छ ।

 
 
  
 

You may also like