प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग छिचोल्दै, निर्माणले गति लिँदै

by समतल अनलाइन

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज पूर्ण रूपमा छिचोलिने भएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोल्ने कार्य सम्पन्न हुनेछ।

प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरी, त्यसपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

सुरुङमार्गको कुल लम्बाइ १,१२६ मिटर रहेको छ, जसको मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए। सुरुङ छिचोलिएपछि बाँकी कामलाई तीव्रता दिइने उनले थपे।

यसअघि तीन वटा सहायक सुरुङको छिचोल्ने काम सम्पन्न भइसकेको छ। जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो। बाइपास सुरुङहरू क्रमशः १५१, २६१ र ३३० मिटर लामो रहेका छन्।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुली जडान लगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले बताए। यस्तै, गाडी गुड्ने क्षेत्रको निर्धारण गर्दै ‘पेभमेन्ट’ ढलानको काम पनि अघि बढाइने छ।

आयोजनाकी सूचना अधिकारी सबिता ज्ञवालीका अनुसार, यस परियोजनामा विद्युतीकरण, भेन्टिलेसन, नाली लगायतका कार्यलाई पनि तीव्रता दिइनेछ। साथै, सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइनेछ।

सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्र पहिरोको अत्यधिक जोखिममा रहेको हुँदा सरकारद्वारा सुरुङमार्ग निर्माणको अवधारणा अघि सारिएको थियो।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौतासँगै पाँच वर्षको अवधिमा निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको थियो। निर्माण कार्य २०८० माघ ४ गतेदेखि सुरु भएको थियो।

हालसम्म सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको छ। आयोजनाले अबको दुई वर्षभित्र सबै काम सक्ने लक्ष्य राखेको जनाएको छ।

 
 
  
 

You may also like