यू–१९ महिला विश्वकप : नेपाल अस्ट्रेलियासँग पराजित, समूह चरणबाटै बाहिरियो

by समतल अनलाइन

काठमाडौँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनायो ।

नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै १८ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाकी हसरत गिल, जुलिटी मोर्टन र लिली बेसिंगथवाइटले २-२ विकेट लिए । यसअघि मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो । अस्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल रहेको समूह ’डी’ बाट अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड ‘सुपर–सिक्स’ मा पुगेका छन् । नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष तीन टोली ‘सुपर–सिक्स’ मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

 
 
  
 

You may also like