दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल गिरफ्तार

by समतल अनलाइन

काठमाडौं । दक्षिण कोरियामा भ्रष्टाचारविरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यून सुक योललाई गिरफ्तार गरेका छन् । यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो । यूनलाई मोटरमा राखेर सीआईओको मुख्यालयतर्फ लगिएको स्थानीय समाचारमाध्यमले जनाएका छन् । निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए ।
सुरूमा राष्ट्रपतीय सुरक्षा सेवाका सुरक्षाकर्मीले राष्ट्रपति निवासको प्रवेशद्वार नजिक सवारी साधन तेस्र्याएर उनीहरूलाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए । साथै सत्तारुढ दलका केही सांसद र यूनका कानुन व्यवसायीहरूको एक समूहले पनि उनीहरूलाई प्रवेशद्वारमै रोक्ने प्रयास गरेको थियो । राष्ट्रपति आवास बाहिर यूनका समर्थक र विरोधीको ठूलो भीड लागेको छ। निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ । यूनले गत डिसेम्बर ३ को मध्यराति देशमा मार्शल ल घोषणा गरेका थिए यद्यपि त्यो घोषणा ६ घण्टा पनि टिक्न सकेको थिएन ।

तत्काल संसद्को बैठक बसेर सांसदहरूले अमान्य घोषणा गरेपछि यूनले मार्शल ल फिर्ता लिएका थिए । सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा यून विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग पारित भएसँगै निलम्बनमा पर्नुभएका यून विरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ । संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन् ।

 
 
  
 

You may also like