बुटवल नगर सभा: १६औं अधिवेशनको दोश्रो बैठक विभिन्न विधेयक पारित गर्दै सम्पन्न

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरपालिकाको नगर सभाको १६औं अधिवेशनको दोश्रो बैठक विभिन्न महत्त्वपूर्ण विधेयक पारित गर्दै सम्पन्न भएको छ। नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन, २०८१ (प्रथम संशोधन) पारित गरेको छ।

त्यस्तै, बुटवल उपमहानगरपालिकाको छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) ऐन, २०८० (दोश्रो संशोधन २०८१) पनि पारित भएको छ। साथै, गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, २०८१ लाई पारित गरिएको नगर प्रवक्ता शिव रानाले जानकारी दिनुभयो।

बैठकले करार कर्मचारी व्यवस्थापन विधेयक, २०८१ तथा मेयर युवा रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई समेत पारित गरेको छ।

महालेखा परीक्षकले औंल्याएको बेरुजु फछ्यौट तथा सम्परीक्षणका लागि बैठकले अनुमोदन गरेको छ। त्यस्तै, प्राकृतिक स्रोत व्यवस्थापन विधेयक, २०८१ नगर सभा सदस्य नरेन्द्र बस्नेतले टेबुल गर्नुभयो।

नगर सभाको १६औं अधिवेशनको तेस्रो बैठक माघ १२ गते, शनिवार दिनको १ बजे बस्ने नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयो।

 
 
  
 

You may also like