बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

by समतल अनलाइन

बुटवल। बुटवलको दीपनगर स्थित बाजेबजै स्थानमा मगर समुदायले आफ्नो परम्परागत पितृ पूजा सम्पन्न गरेका छन्। नेपाल मगर संघ बुटवल उपमहानगर समितिको नेतृत्वमा आयोजित यो पूजा आइतबार सम्पन्न भएको हो।

बुटवल उपमहानगरपालिकाका प्रमुख, खेलराज पाण्डेयले कार्यक्रमलाई सम्बोधन गर्दै मगर समुदायलाई सांस्कृतिक र भाषिक दृष्टिले समृद्ध समुदायको रुपमा व्याख्या गर्दै यसको संरक्षण र प्रवर्धनको महत्वमा जोड दिनुभयो। उहाँले भने, “मगर समुदायको भाषा संरक्षणका लागि बुटवल उपमहानगरले मगर ढुट भाषामा नागरिक वडापत्र जारी गरेर एक महत्वपूर्ण कदम चालेको छ।”

पाण्डेयले थपे, “बुटवल उपमहानगरपालिकाले यहाँका सबै समुदायका भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि निरन्तर प्रयास गर्नेछ।” उनले भने, “मगर समुदायले सांस्कृतिक धरोहरको संरक्षणसँगै शैक्षिक र आर्थिक समृद्धिमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ।”

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष प्रेम थापामगर लगायतले विचार व्यक्त गरेका थिए। कार्यक्रममा बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारु र सचिव हेमन्त बुढाथोकीले कार्यक्रमको सञ्चालन गरेका थिए।

मगर समुदायको पितृ पूजा प्रत्येक वर्ष मंसिर महिनाको अन्तिम शुक्ल पूर्णिमाको दिन आयोजना गरिन्छ, जसमा पितृहरूको सम्झना र आशीर्वाद प्राप्त गर्नका लागि बाजेबजै स्थानमा विशेष पूजा सम्पन्न गरिन्छ।

 
 
  
 

You may also like