रुपन्देही पत्रकार महासंघको निर्वाचनमा संयुक्त प्यानलको जित

by समतल अनलाइन

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ। महासंघ रुपन्देहीको अध्यक्षमा दिनेश पाण्डे ९५ मतका साथ विजयी भएका छन्। पाण्डेका प्रतिष्पर्धी समाजवादी प्रेस संगठन, नेपालका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए। उनको पक्षमा प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो। त्यस्तै, प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले ५९ मत प्राप्त गरिन्।

उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित भएका थिए। महिला उपाध्यक्षमा मीना पाण्डे (अस्मिना) १३४ मतका साथ विजयी भएकी थिइन्। उनका प्रतिष्पर्धी माया केसीले ६८ र उषा किरण पन्थले १७ मत प्राप्त गरे। त्यसैगरी, सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी भए भने कविराज अधिकारी (कपिल)ले ८५ मत प्राप्त गरे।

सह–सचिवमा झविन्द्र देवकोटा १५४ मत प्राप्त गरी विजयी भए, भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे। त्यसै गरी, सह-सचिव (समावेशी) मा सुमन रश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी भएकी थिइन्। राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत प्राप्त गरे।

कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिपक्षी सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गरे।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा महिला सदस्यतर्फ अनिता चौधरी (१४८), दलित सदस्य कृष्ण रणपाल (१४६), आदिवासी जनजाति सदस्य नरेश चौधरी (१४२), र मधेशी सदस्य हृदयराम गुप्ता (१३९) मत प्राप्त गरी विजयी भएका छन्।

खुल्ला ८ जना सदस्यहरूमा कल्पना डुम्रे (१५२), डि.बी. सुस्लिङ (११४), दिनेश कुमार श्रेष्ठ (११६), भुवन जिसी (१२०), रबिन्द्र प्रताप गुप्ता (१३४), रामप्रसाद भण्डारी (१३२), ललित कुमार पाण्डेय (१४६), र सुमित्रा चापागाईं १११ मत प्राप्त गरी विजयी भएका छन्। सदस्य (अन्य समावेशी) मा गोविन्द बहादुर घर्ती सर्वसम्मत निर्वाचित भएका थिए।

राति अबेर सकिएको निर्वाचनको मतपरिणाम घोषणा गर्दै निर्वाचन समितिका संयोजक खिमानन्द भट्टराईले महासंघलाई साझा संस्थाको रूपमा अघि बढाउन शुभकामना दिएका थिए। अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष भई जिम्मेवारी निर्वाह गर्दै आएका थिए। उनी यस अगाडिको निर्वाचनमा रामराज पोख्रेलसँग अध्यक्षमा पराजित भएका थिए।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै पाण्डेले पत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताए।

 
 
  
 

You may also like