पत्रकार महासङ्घमा युनियन र चौतारीबीच सहमति, पदाधिकारी र जिल्ला अध्यक्ष बाँडफाँट टुंगियो

by समतल अनलाइन

काठमाडौ । नेपाल पत्रकार महासङ्घको आगामी २८ गते हुने महाधिवेशनका लागि प्रेस चौतारी र प्रेस युनियनबीच पदाधिकारी तथा जिल्ला अध्यक्ष बाँडफाँटको सहमति भएको छ।

गएराति सम्पन्न वार्तामा चौतारीले महासङ्घको अध्यक्षसहित ५ पद र युनियनले ८ पद लिने सहमति गरेको छ। साथै, जिल्ला अध्यक्षतर्फ युनियनले ४२ र चौतारीले ३२ जिल्लामा नेतृत्व लिने सहमति भएको छ।

प्रेस चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्य पाउने भएको छ। युनियनले बाँकी पदमा उम्मेदवारी दिनेछ।

प्रदेशस्तरमा कोशी, मधेस, कर्णाली र उपत्यकाका अध्यक्ष चौतारीले लिनेछन् भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानका अध्यक्ष युनियनले पाउने सहमति भएको छ।

महाधिवेशनका लागि शुक्रवारदेखि मनोनयन दर्ता सुरु हुने कार्यतालिका रहेको छ।

 
 
  
 

You may also like