बुटवल। बुटवलका मुख्य बजार क्षेत्र तथा जनसङ्ख्या बाक्लो क्षेत्रलाई सुरक्षित बनाउन सिसिटिभी क्यामेरा जडान गरिएको छ। चोरी, आपराधिक गतिविधि तथा अन्य अवाञ्छित कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले वडा नम्बर ४, ५, ६, ७ र बसपार्क क्षेत्रलाई समेट्दै क्यामेरा जडान गरिएको हो।
आयोजित एक कार्यक्रमका बीच उक्त सिसिटिभी क्यामेराको उद्घाटन गरिएको छ। कार्यक्रममा नगरप्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीयवासी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले यस कदमले बुटवललाई सुरक्षित नगर बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले क्यामेराको प्रभावकारी व्यवस्थापन र निगरानीका लागि जनताको समेत सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
सुरक्षा व्यवस्था मजबुत बनाउन गरिएको यस पहलले चोरी, दुर्घटना र अन्य आपराधिक गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। साथै, निगरानी प्रणालीको प्रभावकारिताका लागि सम्बन्धित क्षेत्रका सुरक्षा निकाय र स्थानीय प्रशासनले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।